अन्तर्राष्ट्रिय

भ्याक्सिन अफवाहको मारमा हङकङ

By मनोज घिमिरे

February 25, 2022

कारिटास मेडिकल सेन्टरमा गत साता देखिएको दृश्य उराठ लाग्दो थियो। पाल लगाएर बनाएर शैय्याहरू थपिएका छन्। पहिलेदेखि भएका अस्पतालका कुनै शैय्या खाली छैनन्। बिरामीको विलापले वातावरण टिठ लाग्दो छ।

सबै बिरामी कोभिड १९ का लक्षण देखिएका छन्। यसरी अत्तालिएर बिलौना गर्नेमा धेरै प्रौढ छन्। कतै बच्चा रोइ रहेको पनि सुनिन्छ। ‘मलाई युद्ध समयको शरणार्थी शिविरमा भएको जस्तो महसुस भइरहेको छ। यहाँको अवस्था देख्दा जो कोहीको पनि आँसु नै आउने गर्छ। वार्डमा कुनै ठाउँ खाली छैन। उनीहरू कुरेर बसेका छन्,’ एक नर्स भन्छिन्।

प्रमुख कार्यकारी क्यारियर लियामले अवस्था थेग्नै नसकिने भइसकेको भनेर प्रतिक्रिया जनाए। त्यसको एक दिनपछि नै त्यो भिड अस्पतालको कोठामा नै सीमित भएको थियो। बाहिर लथालिङ्ग भने छैन। यी सबै प्रयासका बाबजुद हङकङका हरेक अस्पताल भरिन थालेका छन्। कोभिड १९ को कारण त्यहाँको अवस्था सम्हाल्न नै नसकिने भएको छ।

गएको दुई वर्षमा त्यहाँ कोभिड १९ लाई नियन्त्रणमा राखिएको थियो। ७५ लाख जनसङ्ख्या भएको त्यहाँ १२६५० मात्र सङ्क्रमित थिए। यसमा २२० जनाको ज्यान गएको थियो। सन् २०२१ को अन्त्यबाट भने यो अवस्थामा फरक देखियो।

सुरुवातमै टेस्टिङ, कनट्याक्ट ट्रेसिङ, कडा क्वारेनटाइन नियम र पर्यटकको आगमनमा पनि त्यत्तिकै कडाइ गरिएको थियो। यसरी नियन्त्रणमा आएको कोभिड पनि ओमिक्रोन भेरियन्ट आएपछि अस्पतालले नै धान्न नसकिने अवस्थामा पुगेको हो। यस पछिका दुई महिनाको अन्तरालमा ६६ हजार जना सङ्क्रमित भए।

प्यसिफिक क्षेत्रबाट आएको उडानमा रहेका दुई पर्यटकमा पहिलो पटक ओमिक्रोन फेला परेको थियो। डिसेम्बरको अन्त्यमा यो भेरियन्ट पुष्टि भएपछि धेरै जनालाई क्वारेनटाइनमा राखिएको थियो। हङकङ विश्वविद्यालयको प्रोजेक्सन अनुसार मार्चको मध्य या अन्त्यमा दैनिक १ लाख ८० हजार नयाँ सङ्क्रमित थपिने छन्। अहिलेको जस्तो सामाजिक दुरीको नियम पालना भएमा मेको मध्यसम्म ३२०० जना भन्दा धेरै जनाको ज्यान जानेछ।

ओमिक्रोन भेरियन्ट विगतको भन्दा कम घातक भएका कारण सङ्क्रमित मध्य धेरै जनालाई केही दिनमा नै ठिक भइ नै हाल्छ। यसका बाबजुद सरकारले कम लक्षण भएका तथा लक्षण नभएका सङ्क्रमितका लागि आइसोलेसनको व्यवस्था मिलाएको छ।

होम आइसोलेसनको सवालमा भने सरकारले कुने स्पष्ट गाइडलाइन तयार पारेको छैन। १४ दिनपछि क्वारेनटाइनमा बस्न नपर्ने मात्र भनेको छ।

‘हाम्रो स्वास्थ्य प्रणाली असह्यले आफ्नै ढङ्गले विस्फोट भइरहेको छ भन्ने बुझ्न जरुरी भइसकेको छ,’ हङकङ मेडिकलका डिन प्राध्यापक गाब्रीयल लियोनेले भने।

जिरो कोभिड नीतिबाट विचलित भएको स्वीकार गर्न त्यहाँका अधिकारी तयार छैनन्। चिनियाँ अधिकारीले सीमा खुला गर्ने आशाले नै उनीहरूले जिरो कोभिड नीतिबाट टाढा नभएको दाबी गरेको हो।

हङकङ युनिभर्सिटीका भाइरोलोजिस्ट सिद्धार्थ श्रीधरकै अनुसार कोभिडसँग बाच्ने भन्ने कुराको अभ्यास हङकङमा पहिला भएको थिएन। यसै कारण त्यहाँका मानिस अहिले आतङ्कित भएका छन्। श्रीधर पनि हङकङले आफ्नो नीति परिवर्तन नगर्ने हो भने होम आइसोलेसनको सुविधालाई बढाउने पर्ने कुरामा जोड दिन्छन्। घरमा बस्नेका लागि पनि सामग्रीको अभाव हुन नदिने तथा औषधि उपचारको व्यवस्था सरकारले गर्न जरुरी भएको उनी बताउँछन्।

सिटी अस्पतालमा २ हजार बेड छन्। यस कारण लियोन अस्पताल पुरै अशक्तलाई प्राथमिकता दिने पर्नेमा जोड दिन्छन्। अहिलेको त्यहाँको मुख्य समस्या भनेकै प्रौढलाई दिइएको कम भ्याक्सिन हो। ११ वर्ष माथिका ७६.२ प्रतिशत पुरै इम्युन छन्। तर, ८० वर्ष पार गरेको हकमा भने एक तिहाइले मात्र दुवै डोज भ्याक्सिन लगाएका छन्।

हङकङमा लामो समयसम्म थोरै मानिसमा मात्र कोभिड सङ्क्रमण थियो। एकदमै थोरै मानिस मात्र कोभिडका कारण मरेका थिए। यस कारण कोभिडको भ्याक्सिनमा धेरैको चासो नै गएको थिएन। कम भ्याक्सिनेसनका बारे श्रीधरले बताए।

पछिल्लो समय देखिएको अस्तव्यस्त राजनीतिक प्रणालीका कारण सरकार प्रति विश्वास नगर्नेको सङ्ख्या धेरै छ। यसै कारण भ्याक्सिनेसनमा पनि हिचकिचाहट देखिएको छ। गत मेमा हङकङ विश्वविद्यालयले पाँच देशमा भ्याक्सिनेसन दरको सर्वे गरेको थियो।

सिंगापुर, बेलायत र अमेरिकालाई पनि समावेश गरिएको सर्वेमा हङकङ सबैभन्दा पछि देखिएको थियो। यसरी भ्याक्सिन नलगाउनेमा सबैभन्दा धेरै ‘कन्सपीरेसी थ्यौरी’मा विश्वास गर्ने थिए।

सात मध्य ६ जनामा यो थ्यौरीमा विश्वास थियो। हङकङमै पनि मानिसको डिएनए नास गर्ने षडयन्त्रको रूपमा भ्याक्सिन आएको भनेर बुझ्नेको सङ्ख्या धेरै छ। यसैगरी व्यापारको लागि भ्याक्सिन बनाइएको भनेर अनुमान गर्नेको सङ्ख्या पनि त्यहाँ प्रशस्त छ। यसैमा विश्वास गरेर भ्याक्सिन नलगाउनेको नै अहिले धेरै मृत्यु भइरहेको छ।

गएको महिनादेखि अधिकारीले भ्याक्सिन लगाउने र नलगाउनेलाई फरक व्यवहार गर्दै भ्याक्सिन लगाउन दबाब दिन सुरु गरेका छन्। अहिले त्यहाँ केही नियम कडाईका साथ लागु गरिएको छ। रेस्टुरेन्टमा ६ बजेपछि खाना खान बर्जित छ। जिम, सिनेमा र खेल मैदान बन्द छन्। दुई भन्दा बढी परिवारका व्यक्तिको बीचमा भेटघाट कार्यक्रम गर्न पाइने छैन। यस साता मात्र भ्याक्सिन पास उपलब्ध गराइएको छ। भ्याक्सिन पास हुने मात्र रेस्टुरेन्ट र सपिङ मलमा प्रवेश पाउँछन्।

चीनका अधिकारीले हङकङको अवस्थालाई नियन्त्रणमा ल्याउने पहिलो प्राथमिकता भएको जनाएका छन्। तथापि यसमा पर्याप्त प्रयास भने भएको पाइएको छैन। बेइजिङले टेस्ट र कनट्याक्ट ट्रेसिङमा धेरै चासो दिएको छ। तर, ओमिक्रोन धेरै सङ्क्रामक भएकाले यो समुदायमा व्यापक फैलिसकेको छ। यसलाई अब रोक्न भन्दा पनि अस्पतालको संरचनामा ध्यान दिनुको विकल्प छैन। अस्पतालको सुधार र संरचनामा भने त्यत्ति ध्यान दिइएको छैन।

हङकङको यो लहरलाई पाँचौँ लहर मानिएको छ। दैनिक २८ हजार भन्दा बढी सङ्क्रमित अस्पताल भर्ना हुनु पर्ने अवस्था समेत आउन सक्ने जनाइएको छ।

भ्याक्सिन र भ्रम

अहिले त्यहाँको स्वास्थ्य संयन्त्र नै असफल भएको छ। यसै साता एक तीन वर्षीया बालीकाको निधनको समाचारले धेरैलाई मर्माहत पारेको थियो। त्यो दृश्य देख्ने सबैको आँखा रसाएका थिए।

धेरै विज्ञ हङकङको अहिलेको खराब अवस्था आउनुलाई भ्याक्सिनेसनमा गरिएको हेलचेक्र्याइँ नै प्रमुख कारण भएको बताउँछन्। कोभिड–१९ को भ्याक्सिन वितरण सुरु गर्न थालिएको एक वर्ष मात्र पार गरेको छ। यस बिचमा संसारमा ५५.८ प्रतिशतले पुरा डोज खोप लगाइसकेका छन्। संसारका २८ कोभिड भ्याक्सिन अहिले प्रचलनमा छन्।

संसारका प्राय सबै सम्पन्न देशमा वयस्कलाई पुरै डोज लगाउन सकिने अवस्था भए पनि हङकङमा धेरैमा यसका बारे भ्रम कायम नै छ। भ्याक्सिन प्रतिको भ्रम संसारका धेरै मानिसमा रहे झैँ त्यहाँ पनि रहनुलाई विज्ञहरू दुर्भाग्यको संज्ञा दिन्छन्।

लामो समय जिरो कोभिडको नीतिमा सफलता पाएको हङकङका लागि अहिले अस्पतालको चाप मात्र होइन अन्य समस्या पनि थपिएको छ। चीनले सहयोग गर्ने जनाए पनि अन्य देशसँग सीमा बन्द होस् भन्ने चाहन्छ। यो चाहना हङकङका लागि सहज छैन। बहुराष्ट्रिय कम्पनीको हङकङमा लगानी मात्र छैन, त्यहाँका बासिन्दा पनि आफ्नै व्यापारका लागि देश बाहिर जाने गरेका छन्। हङकङ चीन जस्तो सङ्कीर्ण नभई सबैसँग मिलेर बस्न र अन्तर्राष्ट्रिय व्यापारमा संलग्न हुन चाहन्छ।

सायद हङकङको यो समस्या मार्च महिनासम्म कायम रहन्छ। विगतमा अस्पतालको अवस्थामा सुधार गर्ने र भ्याक्सिनसेनलाई बढवा नदिएको फल संसारका अन्य देशले भोगे झैँ हङकङले पनि भोगको छ। एजेन्सीको सहयोगमा