क्रिकेट

उत्कृष्ट खेलेपनि विश्वकप गुमाएको त्यो सेमिफाइनल…

By एसेन्स श्रेष्ठ

February 25, 2022

काठमाडौँ : आइसीसी टी–ट्वान्टी क्रिकेट विश्वकप ग्लोबल छनोट ए मा नेपालको प्रदर्शन यादगर रह्यो । दोस्रोपटक विश्वकप खेल्न नपाउने भएपनि नेपालले केही खेलमा चमत्कारिक प्रदर्शन गरेर आफूलाई अब्बल प्रमाणित गरेको छ ।

छनोटको पहिलो खेलमै ओमानलाई ३९ रनले पराजित गर्दा नेपालको बलिङको उत्कृष्ट नमूना देखियो । विश्वस्तरीय टिमले पनि त्यसरी आफूस्तरकै टिमलाई विरलै मात्र १०० रनभित्र रोक्न सक्छन् । तर नेपाली युवा क्रिकेटरले आफूलाई अब्बल प्रमाणित गरे । ११७ रनको लक्ष्य दिएर ७८ रनमै ओमानलाई अलआउट गर्नु नेपाली बलरको अविश्वसनीय प्रदर्शन हो ।

दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले हरायो । अनि तेस्रो खेलमा क्यानडालाई ८ विकेटले हरायो । तेस्रो जितसँगै समूह बीको विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो ।

सन् २०१४ मा पारस खड्काको कप्तानी र मुख्य प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा पहिलो पटक नेपालले टी–ट्वान्टी विश्वकप खेलेको थियो । यस पटक पनि त्यो इतिहास दोहोरिने आश नेपाली क्रिकेट फ्यानले गरेका थिए ।

तर राम्रो प्रदर्शन गर्दा पनि सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएर विश्वकपबाट बञ्चिन हुनुपर्यो । १७६ रनको लक्ष्य पछ्याएको नेपाल ६८ रनले पराजित भयो । नेपाल ब्याटरको पुरानै समस्या दोहोरिदा नेपाल दोस्रोपटक विश्वकप खेल्नबाट बञ्चित भएको तथ्य उजागर भएको हो ।

चुक्यो सेमिफाइनल, छुट्यो विश्वकप

नेपालले दोस्रोपटक विश्वकप क्रिकेट खेल्ने सपना युएईसँगको सेमिफाइनलमा पुगेर रोकिएको थियो । समूह चरणमा उत्कृष्ट प्रदर्शन र विश्वस्तरीय बलिङ नमूनाले नेपालको सम्भावना अरुभन्दा धेरै माथि थियो पनि ।

खेलको सुरुवातमा टस जितेर यूएईले ब्याटिङ रोज्यो । पहिलो ओभर बलिङ गर्न जितेन्द्र मुखियाले बल समाते । उनी सन् २०१४ को विश्वकप टोलीमा नेपालीका मुख्य बलर थिए ।

सन् २०२२ मा पनि विश्वकप खेल्न सक्ने बलिङ क्षमता उनको थियो । बलिङका लागि मैदान प्रवेश गरेका जितेन्द्रले पहिलो ओभरको चौथो बलमा चिराग सुरी आउट भए । यो विकेट नेपालका लागि महत्वपूर्ण थियो । नेपालले खेलमा अधिपत्य जमाउन सक्ने संकेत नेपाली फ्यानलाई ओमानबाट बलरले पठाएका थिए । तर सबै योजना सोचेअनुसार सफल हुँदैनन् ।

सुरी आउट भएपनि अर्का ओपनर महुम्मद वसिमले विष्फोट ब्याटिङ गरे । साथै तेस्रो नम्बरमा क्रिजमा आएका बित्र्य अरविन्दले राम्रो प्रदर्शन गरे । पहिलो विकेट लिएपश्चात नेपाललाई दोस्रो विकेट लिन लामो संघर्ष गर्नुप¥यो । नेपालले दोस्रो विकेट लिँदासम्म वसिमले ७० रन जोडिसकेका थिए । अनि टिमको स्कोर १०० कट्ने अवस्थामा पुगेको थियो । यस्तो अवस्थामा नेपालको तयारी केवल बलरको क्षमतामा मात्रै केन्द्रित देखिन्थ्यो ।

नेपाली बलरले चिराग सुरी र रोहन मुस्ताफालाई मात्रै ध्यान दिँदा वसीमले आफ्नो धमकेदार ब्याटिङ प्रदर्शन गरेका थिए । उनी आउट हुँदा यूएईको खातामा १ सय ४० रन जम्मा भइसकेको थियो ।

वसीमका साथै बसिल हामिद, जवर फारिद, काशिफ दाउद, रोहन मुस्तफा र अहमद राजाले पनि रन जोड्दै नेपाललाई १७६ रनको विशाल लक्ष्यको चुनौति पेस गर्न सफल रहे । नेपालका लागि यो ठूलो लक्ष्य नभएपनि चुनौतिपूर्ण थियो । किनकी ब्याटिङमा केही भरोसायोग्य ब्याटर मात्रै थिए । बाँकी धेरैमा भरोसा गर्न नसकिने स्थिती थियो ।

१ सय ७८ रनको लक्ष्यमा जवाफी ब्याटिङमा उत्रिएका नेपाल सुरुदेखि चुक्दै गयो । राम्रो प्रदर्शन गर्न सकेन । नेपालका आशिफ शेख पहिलो ओभरमा शून्य रनमा नै आउट भए । नेपाललाई ब्याटिङमा भने कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीमाथि भरोसा थियो । तर कुशल पनि ७ रनमै आउट भए । नेपालको ओपनिङ भरोसा टुट्यो ।

नेपालको खेलमा लोकेश बमलाई रणनीतिक ब्याटरका रुपमा क्रिजमा उतारेका पुबुदुले त्यहाँ पनि भरोसा कायम भएको पाएनन् । ठूलो शट खेल्दा लोकेश शून्यमै आउट भए । नेपाल २ विकेट जाँदा ३ रनको अवस्थामा थियो । क्रिजमा दीपेन्द्रसिंह ऐरी आए । लगत्तै भुर्तेल आउट भए ।

दुई जना ब्याटरले खेल जिताउने आशा थियो । कुशल आउट भएपछि ऐरी एक्लिए । अर्को इण्टमा विकेट थाम्ने ब्याटर नै क्रिजमा जम्न सकेनन् । केही समय ज्ञानेन्द्र मल्ल अडिए । उनी २० रनमा आउट भए ।

ऐरीले ३९ रनसम्म जोडे । दुवै जना एकै ओभरमा आउट भए । १४ औँ ओभरको चौथो र पाँचौँ बलमा दुवै जना आउट हुँदा नेपालले ७ विकेट गुमाएर १०० रन पनि कटाउन सकेको थिएन ।

मल्ल र ऐरीको विकेट गएपछि नेपालको विश्वकप खेल्ने समाप्त भयो । त्यसपछि भने नेपालले कुनै पनि विकेट राम्रोसँग जोगाउन सकेन । १०७ रनमा आउट भएको नेपाल लज्जास्पद हारसँगै विश्वकपमा छनोट हुन असफल भयो ।

नेपाली र खेलाडीले सम्झिरहने नाम

सेमिफाइनलमा नेपाल चुकेपनि विश्वकपका लागि तयारी पर्याप्त थिएन । जसको नमूना सेमिफाइनलमा देखियो । एशोसिएट राष्ट्रको प्रशिक्षण्मा आफ्नो छुट्टै नाम र ब्राण्ड बनाएका पुबुदु दासानायकेको रणनीतिले मात्रै नेपालले ग्लोबल छनोटमा राम्रो प्रदर्शन गरेको थियो ।

तर एउटा सेमिफाइनल चुक्दा नेपालले विश्वकप छुटाएपनि खेलप्रेमीका लागि खेलाडीको प्रदर्शन भने मनमा गढिरहनेछ । विश्वकप खेल्न छुटेपनि नेपाली क्रिकेटको नयाँ स्टार र भविष्यका रुपमा असिफ शेख, कुशल भुर्तेल, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र कप्तान सन्दीप लामिछानेलाई भने क्रिकेट प्रंशसकहरुले सम्झिरनेछन् ।

कुनै बेला नेपालको क्रिकेटमा एकछत्र रुपमा पारस खड्का, शरद भेषावाकरको नाम हावी थियो । यस्तै बसन्त रेग्मी, शक्ति गौचन र ज्ञानेन्द्र मल्ल पनि प्रमुख हिस्सेदार रहे । त्यसमा पृथु बास्कोटा पनि एक हुन् । अनि ओपनर ब्याटरमा सुवास खकुरेल पनि उस्तै रहे ।

तर अहिले यी नाम बिर्साउन कुशल भुर्तेल महत्वपूर्ण छन् । दीपेन्द्रसिंह ऐरी पारस खड्काका रुपमा उदाएका छन् । अनि सन्दीप लामिछानेको बलिङ नेतृत्व महत्वपूर्ण छ । आसिफ शेख, अविनाश बोहरा, कमलसिंह ऐरी, लोकेश बम जस्ता खेलाडी पनि नेपाली क्रिकेटको भविष्यका रुपमा उदाउने एउटा सम्भावना उजागर भएको छ ।

यससँगै नेपालले फेरि ओमानलाई हराउँदै तेस्रो स्थान भएर ग्लोबल विश्वकप छनौट प्रतियोगिता टुंग्याएको छ ।