राजनीति

अहिलेकै अवस्थामा एमसीसीलाई स्वीकार गर्न सकिँदैनः खनाल

By खबरहब

February 25, 2022

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) लाई अहिलेको अवस्थामा स्वीकार गर्न नसकिने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा खनालले एमसीसीमा रहेका राष्ट्रघाती बिषयलाई नसच्चाएसम्म यसलाई स्वीकार गर्न नसकिने बताएका हुन् ।

अमेरिकी सुरक्षा नीतिविपरीतको काम गर्न नपाइने विषय सम्झौतामा उल्लेख भएको उनको भनाइ छ । खनालले समाजवादीको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नुपर्ने भन्दै वैदेशिक हस्तक्षेपविरुद्ध लड्नुपर्ने धारणा राखे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि एमसीसी परियोजना यथास्थितिमा पारित गरेर अघि बढ्न नसक्ने स्पष्ट पारे । एमसीसी अनुमोदन हुँदै गर्दा आफ्नो पार्टीबाट कोही सांसदले बहिष्कार गरे आफू त्यसको विरुद्धमा उत्रने उनको भनाइ छ ।

कार्यक्रममा अन्य नेताहरूले एमसीसी मुलुकको हितविपरीत रहेको भन्दै यसविरुद्ध खबरदारी गर्नुपर्ने बताएका थिए ।