समाचार

बहालवाला न्यायाधीशमाथि अख्तियारले मुद्दा चलाउन नपाउने सर्वोच्चको ठहर

By खबरहब

February 25, 2022

काठमाडौँ– सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अख्तियारले मुद्दा चलाउन नपाउने ठहर गरेको छ ।

सर्वोच्चले अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको हो ।

भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका न्यायाधीश विनोदकुमार गौतमको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो भनेको छ । ललिता निवास प्रकरणमा मुछिएपछि गौतम निलम्बन परेका छन् ।

फागुन १२ गते न्यायाधीश आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको पूर्ण इजलासले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियारलाई नभएको फैसला गरेको छ । साथै, गौतमलाई न्यायपरिषद् पठाउनुपर्नेमा अख्तियार आफैले मुद्दा चलाएको भन्दै उनीमाथि लागेको भ्रष्टाचारको मुद्दा खारेज हुने फैसला गरेको छ ।

ललिता निवासको जग्गा व्यक्ति विशेषको नाममा नामसारी गर्ने कार्यमा भूमिका निर्वाह गरेको भन्दै अख्तियारले २०७६ माघ २२ गते १६५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । जसमा चितवनका तत्कालीन जिल्ला न्यायाधीश गौतम पनि मुछिएका थिए ।