समाचार

नेविसंघका तदर्थ समिति अध्यक्ष शेर्पाबाट पदभार ग्रहण

By खबरहब

March 25, 2022

काठमाडौँ– नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले पदभार सम्हालेका छन् । 

शुक्रबार नेविसंघ कार्यालयमा पूर्वअध्यक्ष राजीव ढुँगानाले तदर्थ समिति अध्यक्ष शेर्पालाई पदभार हस्तान्तरण गरेका हुन् । 

पदभार ग्रहण गरेपछि अध्यक्ष शेर्पाले पार्टीले दिएको म्यान्डेडअनुसार निर्वाचन सकिएको तीन महिनाभित्र संगठनको १२ औँ महाधिवेशन गर्ने प्रतिबद्धता जनाए । 

विद्यार्थी राजनीतिमा गुमेको विश्वासलाई फर्काउन आफूले पहल गर्ने उनको भनाइ छ । त्यस्तै, उनले आफ्नो कार्यकालमा कुनै पूर्वाग्रह नराखेर सङ्गठनलाई विस्तार र बलियो बनाउने बताए ।

नेपाली काँग्रेसले बुधबार शेर्पालाई नेविसंघको केन्द्रीय तदर्थ समिति अध्यक्षमा नियुक्त गरेको थियो ।