तस्वीर- एपी

अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नै नगरी पाकिस्तानी संसद्को बैठक स्थगित

By खबरहब

March 25, 2022

काठमाडौं– प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नै नगरी पाकिस्तानी संसद्को बैठक स्थगित गरिएको छ । शुक्रबार प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव संसद्मा दर्ता गर्ने कार्यक्रम थियो ।

तर, राष्ट्रिय सभाका सदस्य खयाल जमान, पूर्व राष्ट्रपति रफिक तरार एवम् सिनेटर रहमान मल्लिकको निधन भएका कारण शोक व्यक्त गर्दै संसद्को बैठक स्थगित गरिएको जनाइएको छ । बैठकका क्रममा उनीहरुप्रति शोक व्यक्त गर्न कुरआन पढेर प्रार्थाना गरिएको थियो ।

जमानको गत फेब्रुअरी १४ मा, तरारको गत मार्च ७ मा एवम् मल्लिकको गत फेब्रुअरी २३ मा निधन भएको थियो । संसद्का सभामुख असद कैसरले आगामी सोमबारसम्मका लागि संसद्को बैठक स्थगन गरिएको घोषणा गरे ।

सांसदको निधनपछि बस्ने बैठकका क्रममा कुनै प्रस्ताव दर्ता नहुने मान्यताअनुसार बैठक स्थगित गरिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।