काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले जनताको काममा अभिप्रेरित गर्न भन्दै नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।
यही जेठ १८ र १९ गते काठमाडौँमा जनप्रतिनिधिका लागि प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । प्रशिक्षणमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ ।
जिल्ला समन्वय समिति गठन भएको अवस्थामा जिससका प्रमुख र उपप्रमुखलाई पनि कार्यक्रममा सहभागी गराइने उनले बताए । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीका शीर्ष नेता र विभिन्न क्षेत्रका विज्ञले प्रशिक्षण दिनेछन् ।
पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताका पक्षमा जिम्मेवारीका साथ प्रस्तुत हुन स्पष्ट निर्देशन दिने माओवादी तयारी छ । माओवादीले जनप्रतिनिधिले गर्न हुने र नहुने कामसम्बन्धी निर्देशिका पनि तयार गरिरहेको मुख्यसचिव ढकालले जानकारी दिए ।