अन्तर्वार्ता

संक्रमितको ग्राफ हेर्दा चौंथो लहर देख्न सकिन्छ

By विना न्यौपाने

July 25, 2022

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या धेरै बढ्न थालेको छ। कोरोनाको सङ्क्रमण सँगसँगै कोरोनाको चौंथो लहर आएको चिकित्सकले अनुमानसमेत गरेका छन्। अस्पतालमा भर्ना भएका बिरामीमा धेरै ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने जस्ता लक्षण देखा परेका छन्। यो अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी कस्तो छ ? मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

नेपालमा धेरै विज्ञले कोरोनाको चौंथो लहर सुरु भयो भनेका छन्। यसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कसरी लिएको छ ? असार लागेदेखि साउनसम्मको तथ्याङ्कलाई हेर्दा संक्रमितको संख्या दैनिक बढिरहेको छ। समग्रतामा हेर्दा सङ्क्रमण भएको हो कि भनेर अस्पतालमा जाँच गर्न पुग्ने धेरैमा कोरोना पुष्टि भएको छ। दैनिक रूपमा पुष्टि भएका संक्रमितको संख्यालाई ग्राफमा राखेर हेर्दा सङ्क्रमणको लहर बढेको अनुमान गर्न सकिन्छ। पहिलाको तुलनामा अहिले धेरै नै बढेको छ। त्यसलाई झट्ट ग्राफमा हेर्दा चौंथो लहरका रूपमा देख्न सक्छौँ।

त्यसो भए नेपालमा कोरोनाको चौंथो लहर सुरु भएको हो ? सङ्क्रमणको सङ्ख्या बढ्नुमा कोही व्यक्तिले र संस्थाले भन्नु भन्दा पनि बढ्दो तथ्यांकले देखाउने कुरा हो। यो ग्राफले सङ्क्रमितको सङ्ख्या धेरै बढेको देखाउँछ। किनभने यो ओमिक्रोन सङ्क्रमणको तेस्रो लहरबाट धेरै तल आएको संक्रमितको अवस्था फेरि बढेर माथि गएको ग्राफमा देखिँदा अर्को अवस्था आएको अनुमान गर्न सकिन्छ। यसका लागि स्वास्थ्य मन्त्रालयले संक्रमणलाई नजिकबाट निगरानी गर्ने, आवश्यक तयारी गर्ने, अस्पताल तयारी अवस्थामा राख्ने सम्बन्धित निकायलाई कसरी सहकार्य गरेर काम गर्ने भन्ने विषयमा समन्वय गर्ने काम स्वास्थ्य मन्त्रालयले गर्ने गरेको छ।

सरकारले जति काम गर्नुपथ्र्यो। त्यो भएन भनिएको छ नि ? संक्रमणका विगतका अवस्थामा हामी आफैले धेरै काम गरेका छौँ। सुरुको अवस्थामा बिरामीले के गर्ने, के खाने भन्ने बारेमा केही पनि थाहा थिएन। धेरै आत्तिनुहुन्थ्यो। तर, अहिले सबै जनालाई कसरी सुरक्षित बस्ने भन्नेबारेमा थाहा छ। सरकारले गर्नु पर्ने हरेक ठाउँमा के के गनु पर्छ भन्ने सम्बन्धमा वस्तुस्थितिको विश्लेषण गर्दै काम पनि गरिराखेको अवस्था छ। शंकास्पद व्यक्तिलाई खोज तलासी गर्ने काम भइरहेको छ। जनस्वास्थ्यका मापदण्डको विषयमा सबैलाई बुझाउने र सबैको सहभागिता खोज्ने काममा सक्रियता बढाउने कार्य हामीले गरेका छौं। खोप नलगाएका व्यक्तिमा खोप पुर्याउने काम गरेका छौँ। बिरामी आउँदा अस्पतालमा डाक्टर र नर्स तयारी अवस्थामा राखेका छौँ।

पहिलाको जस्तो अवस्था नदोहोरियोस् भनेर नयाँ के–के तयारी भएका छन् ? विगतमा भन्दा अहिले यो कसरी सर्छ र कसरी जोगिन सकिन्छ भनेर सबै जनालाई थाहा छ, त्यसैले अहिले पनि अवस्था त्यही हो, संक्रमण त्यही हो र रोकथामको लागि हामीले गर्ने व्यवहार पनि त्यही नै हो। व्यक्ति व्यक्तिले गर्ने उपाय जस्तो मास्क प्रयोग, भौतिक दुरी कायम गर्ने, सरसफाइका उपाय नै प्रमुख उपाय हुन्। त्यसभन्दाबाहेक नयाँ विधि नयाँ उपाय छैनन्। यिनै कुरालाई व्यक्ति समुदाय र सरोकारवाला मिलेर गर्न सकिन्छ। सङ्क्रमण भइहाल्ने अवस्था सिर्जना हुँदा त्यसले हुने जटिलता छन्। जसका कारण अस्पताल भर्ना हुनसक्ने अवस्थादेखि लिएर ज्यान जान सक्ने अवस्था हुँदासम्म खोप लगाउनु पर्दछ। खोपले नै रोक्ने हुँदा पहिलो प्राथमिकता नै खोप हो।

अस्पतालमा पनि पहिलेका उपचार पद्धति, डाक्टर नर्सको तालिम मेसिनरी सामान छन्। तिनलाई ध्यानमा राखेर नै उपचार व्यवस्थापनका प्रबन्ध गर्नेछौँ। त्यसको लागि सबै निकायको आ–आफ्नै अनुभव छ। त्यसका लागि सक्षम पक्षलाई अगाडि बढाउने र कमजोर पक्षलाई हटाएर काम गर्ने छौँ। त्यसैले सबैले के कुरा बुझ्नु पर्दछ भने कोभिड–१९ को यो नै भनेर औषधि उत्पत्ति भएको छैन। त्यो अवस्थामा हामीले रोक्ने भनेको सङ्क्रमण हो, जटिलता हो। त्यसैले आफू नै सचेत हुनु पर्दछ।

धेरै जनाले बुस्टर डोज लगाउनु भएको छैन, उहाँहरूले कसरी पाउनु हुन्छ ? संक्रमण भइहालेमा शरीरभित्र भएको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउनको लागि सरकारले खोपको व्यवस्थापन गरेको छ। १२ वर्ष भन्दा माथिमा खोपको पूर्ण मात्रा लगाउन बाँकी भएको अथवा बुस्टर डोज नलगाएका सबैले आफ्नो नजिकमा रहेको स्थानीय तहमा सम्पर्क गरेर खोप लगाउन सकिन्छ। पाँच वर्ष माथि र १२ वर्ष भन्दा मुनिका बालबालिकालाई पनि २७ वटा जिल्लामा दोस्रो खोप अभियान चलिरहेको छ। उहाँहरु आफ्नो विद्यालयमा गएर खोप लगाउन सक्नुहुन्छ। अरू थप स्वास्थ्यमा समस्या आयो भने १११५ र ११३३ मा सम्पर्क गरेर पनि जानकारी लिन सकिन्छ।

अहिलेको अवस्थाबाट कोरोनाको चौंथो लहरबाट कसरी बच्ने ? सबै आम जनमानसहरूमा कोभिड-१९ सङ्क्रमणको महामारी सकिएको छैन। यसको जोखिम अझै पनि छ। यस्तो अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट सुरक्षित रहने मास्कको प्रयोग गर्ने, भौतिकदुरी कायम गर्ने वरपर छरछिमेकका पनि यो कुरा बुझाउने, खोप नलगाएका सबै जनाले खोप लगाउने यदि यस्तो भयो भने हाम्रो समाजलाई हामी सहजताको अवस्था तिर लैजान सक्छौँ। (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)