अन्तर्वार्ता

‘नेपालमा राजनेता होइन, राष्ट्रघाती नेताहरु छन्’

By चन्द्रकान्त न्यौपाने

July 25, 2022

काठमाडौँ – भारत भ्रमणबाट फर्किएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक रूपमा एउटा फड्को मार्न खोजेको देखिन्छ । नेपाली कांग्रेससँग गठबन्धन रहने संकेत रहे पनि उनले एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाबाट अलग भएका नेता डा.बाबुराम भट्टराई, एमालेका वामदेव गौतम लगायत नेताहरुसँग एकीकृत समाजवादी केन्द्र बनाउने विषयमा छलफल अगाडि बढाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेकको वाम एकताको तयारी भए पनि यसलाई प्रचण्डले समाजवादी केन्द्रको नाम दिएका छन् । एक समय माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण भएर वाम एकता भए पनि त्यो सफल हुन सकेन । चुनाव जित्ने रणनीतिका रुपमा अघि सारिएको समाजवादी केन्द्र निर्माण र दिगो हुन सक्ला ? खबरहबका लागि राजनीतिक विश्लेषक मुमाराम खनालसँग चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो विकसित भएको राजनीतिलाई तपाईँले कसरी हेर्नु भएको छ ? समाजवादी केन्द्र र वाम गठबन्धन बनाउने कुरा एउटै हो । किनभने जसले समाजवादीका कुरा गरेका छन्, उनीहरू कुनै न कुनै रूपमा वामपन्थी वा आफूलाई कम्युनिस्ट दाबी गर्ने राजनीतिक शक्तिहरू हुन् । नेपाली राजनीतिमा धेरै पात्रहरू छन् । उमेरले उनीहरूले आफ्नो कार्यकालमा जे गर्नु पर्ने थियो, त्यो गरिसकेर र अब राजनीतिमा, मुलुकमा एउटा बोझ मात्र हुने नेतृत्वले यी कुरा गर्नु आफैमा कुनै सान्दर्भिक छैन । किनकि उनीहरू राजनीतिमा टिक्ने र राज्य दोहनमा नै लिप्त हुने र सांगठनिक जडता जुन छ । त्यसलाई अझ निरन्तरता दिने कोणबाट नै राजनीतिमा धेरै प्रकारका टिकाटिप्पणीहरु हुने गरेका छन् । किनभने यसले सेवा प्रवाहमा राम्रो कुरा खेलेन । राज्य सञ्चालनमा राम्रो भूमिका खेलेन । राज्यका संवैधानिक अंगहरुलाई पुरै काम नलाग्ने बनायो भन्ने आरोपमा राजनीतिक दलहरूमा पनि यो कुराको अनुभूति भयो । विभिन्न नामहरूबाट त्यसलाई जेनतेन गरेर टिकिरहन नै यो पार्टीहरु समाजवादी भने पनि वाम गठबन्धनकै सार हो । असान्दर्भिक भैसकेको राजनीतिलाई सान्दर्भिक बनाउने एउटा असफल प्रयास हो यो ।

प्रचण्ड भारत भ्रमण सकेर आएपछि यो प्रसंग अलि व्यापक भयो । बाबुराम भट्टराईले पनि समाजवादी केन्द्र बनाउनु पर्छ भन्नु भएको छ, यो पृष्ठभूमि एकाएक कसरी आयो ? नेपालको राजनीतिमा चुनावको मुखमा नेपालका वामपन्थीहरुले गुट, टुट र जुट भन्ने कुनै राजनीतिक एजेन्डाबाट होइन, शीर्ष नेतृत्वलाई संकट आएपछि एकता हुन्छ । सत्ता संघर्ष चर्किएपछि पार्टी विभाजनमा जान्छ । केही नेताको पार्टी नै छैन जस्तो बाबुराम भट्टराईको पार्टी नै छैन उहाँलाई पार्टी बनाउन धेरै चुनौतीहरूको सामना गर्नु पर्दछ । उहाँको व्यक्तिगत पार्टी सान्दर्भिकता लागि एकीकरण चाहिन्छ । प्रचण्डको पार्टीले पनि कसैसँग नमिली आफ्नो स्वतन्त्र छुट्टै अस्तित्व गुमाएको छ । त्यसैले एउटा तरबार बेचुवा र घिउ बेचुवाहरूको एकता र विभाजनले नेपाली राजनीतिमा वितृष्णा पैदा गरेको छ ।

उहाँहरु सबै राजनीतिक दलका शीर्ष नेताहरूको पार्टीले उत्तरार्धको मोड लिएको भन्ने सन्देश हो त यो ? नेपाली राजनीतिक रूपबाट असान्दर्भिक भैसकेका पात्र हुन् । यी पात्रहरूले छोड्दिने हो भने अर्को पुस्ताले जस्तो सक्थ्यो त्यस्तै पार्टी बनाउँथ्यो । सक्दैनथ्यो त उ सन्तुष्ट हुन्थ्यो । तर त्यो बुढो टक्काले जुन ढङ्गले राजनीतिक पार्टीलाई बन्ध्याकरण गरेको छ । त्यसमा पनि नेपाली राजनीतिलाई असफलतातिर लगेको शक्ति अझै बलियो बनाउनु भनेको त पार्टी ठुलो नभई समस्या ठुलो हुन्छ । भ्रष्ट्राचार सानो नभई भ्रष्ट्राचार ठुलो हुन्छ । यी समस्यालाई समाधान गर्न हैन थप गर्न पार्टी किन बनाउनु पर्‍यो ? संकटग्रस्त मान्छेहरूको संकटग्रस्त उमेरमा किन हुल बनाउनु पर्‍यो ।

समाजवादी केन्द्र निर्माण गर्न प्रचण्ड सफल नभए उनको भविष्य कता जान्छ होला ? प्रचण्डको पार्टी एउटा ठुलो हिंसात्मक संघर्षबाट आएको हुनाले उसलाई एउटा पार्टी र एउटा शक्तिमा नरहने हो भने आफ्नै पार्टीकाले चुट्छन् भन्ने डर छ । त्यसैले प्रचण्डका लागि त्यो समूहलाई आफ्नो ठाउँमा राखेर राष्ट्रिय राजनीतिमा सबैलाई तर्साउने मात्र हो । आफू बलियो भयो भने पार्टीमा ल्याउने र कमजोर हुँदा पाटीबाट लखेट्ने उनको यो धन्दा पहिला देखि नै आएको हो । त्यसैले ७० कटेका नेताले के गोल हान्छन् राजनीतिमा ? यसैले अहिले गोल हान्ने युवाहरू आएका छन् । गोल हान्ने हैन राजनीतिको पोखरी धमिलो बनाउने र त्यहाँ माछा मार्ने मात्र ध्यान शीर्ष नेताहरुको छ । नत्र राष्ट्रिय राजनीति कहाँ पुगेको छ भन्ने त हाम्रो विदेशी नीति खतम भएर गएको छ । खुलेआम लुटतन्त्र अर्थ मन्त्रालयदेखि लिएर अदालतदेखि राष्ट्र बैकदेखि कहाँ गएर हाम्रो राज्य सत्ताका अङ्गहरूले काम गरेका छन् र ? त्यसैले उहाँहरूको प्रतिभा देखियो । अब यो राष्ट्रिय राजनीतिमा जुन पात्रहरू छन् । उनीहरूको टिप्पणी गर्नु बोल्नु कुनै अर्थ छैन । जहिल्यै एउटै कुरा आउँछ ।

यदि आउँदो चुनावमा एमाले र कांग्रेससँग प्रचण्डले तालमेल गर्न सकेनन् भने के हुन्छ ? माओवादी सत्तामा आएदेखिको अवस्थालाई हेर्ने हो भने देश दिन दुई गुणा र रात चौ गुणाले तल रसातलमा पुग्दै छ । विश्वका १० वटा राष्ट्रमध्ये सबै भन्दा खराब राहदानी बोक्ने मुलुक नेपाल हो । प्रचण्ड कुनै राजनेता हैनन् । हिंसाबाट आएको हुनाले डर र त्रासको आधारमा फेरी जंगल जान्छु भनेर राखे । एउटा आतंककारी नेता उनको परिचय हो । नेपालमा राजनेता भएको भए नेपाल यस्तो नै हुँदैनथ्यो । नेपालमा पार्टी जति असफल भए पनि नेता सफल भएका छन् । यो देशलाई विधि, विधान र कानुनबाट बाहिर राखेर मुलुकको संरचना नै बिगारे ती राजनेता हैनन् । ती राष्ट्रघाती नेताहरू हुन् । जसले मुलुकलाई गरिब बनाउँदै जाने र आफू धनी हुँदै जाने, आफ्नो सन्तान धनी हुँदै जाने र मुलुकलाई संकटमा लैजाने गर्छन् । मुलुकलाई संकट आयो भने नेपाल छोडेर भाग्ने समस्या छ । त्यसकारणले हामी ज्ञानेन्द्र शाहलाई धन्यवाद दिन सक्छौँ । उनी समस्या आयो भनेर नेपाल छोडेर त भागेनन् । अफगानिस्तानका नेताहरू भागेर अमेरिका गए । श्रीलङ्काका प्रधानमन्त्री र राष्ट्रपति भागेर सिंगापुर पुगे । त्यसैले कुनै पनि नेता राजनेता बनेर आएका हुँदैनन् । राष्ट्रमा जे जति समस्याहरु छन् । ती समस्यालाई लोकतान्त्रिक ढंगले हल गर्ने भन्दा पनि लोकतन्त्रलाई अपहरण गर्ने र लोकतन्त्रलाई निरुत्साहित गर्ने गिरोहको रूपमा नेपाली कांग्रेस पनि छ, माओवादी पनि छ, एमालेमा पनि छ । त्यसैले तीन वटै पार्टीमा लोकतन्त्रको कुनै गुन्जायस नै छैन ।

आउँदो चुनावमा नेपाली जनताले चाहे पनि नचाहे पनि यी नै पार्टीलाई रोज्नु पर्ने हो कि के होला ? साना साना प्रयत्नहरू आफैँमा भएका छन् । तर ती पनि अहिलेको लोकतन्त्रसँग दिकदार भएपछि अझ ठुलो फराकिलो लोकतन्त्रमा लाग्ने हो । न कि अतीतको यात्रामा रमाउने होइन । वर्तमानमा जान हामीसँग लोकतान्त्रिक परिवेशलाई फराकिलो पार्ने अर्को कुनै उपाय नै छैन । त्यसैले त्यो दक्षिण पन्थी राजनीतिका लागि नेपाल २०४६ सालमा पञ्चायत र राजाको जगजगी थियो । त्यतिबेला विद्यार्थीहरुले उठ्नको लागि उम्मेदवार पनि पाउँदैनथे भने ४० वर्ष पार गरी सक्यो । त्यसैले राजा आउने भन्ने केही हुँदैन ।

रवीन्द्र मिश्रले त खुलेआम राजाको पक्षको वकालत गर्दै राजाकै तस्बिर सार्वजनिक गर्नु भयो ? उनी एक राजावादी नै हुन् । त्यसैले उनले राजाका विषयमा धेरै पुस्तकहरू पनि प्रकाशित गरिसकेका छन् । त्यसैले त्यो उनको व्यक्तिगत विचार हो । पार्टी बनाउँदा केही समय आफ्नो वास्तविकता लुकाए । पार्टी बनाउन नसकेपछि राजावादी नै हुन् ।

नेपाली राजनीतिमा अब कुनै आशाको बाटो नै छैन त ? यी जुन प्रयत्न भएका छन् । त्यो भन्दा अझै राम्रो बनाउँदै लैजानु पर्दछ । जुन प्रयत्न भएका छन् । ती सबै दक्षिण पन्थी प्रयत्न भएका छन् । पार्टीहरूको भन्दा खराब प्रयत्न गरेर जित्न सकिँदैन । उनीहरुलाई हराउन त्यो पार्टीभित्र रहेका र यो पार्टीका लागि लडिरहेका मान्छेलाई समर्थन गर्नुपर्छ । पार्टीभित्र भएका शीर्ष नेताहरु छन् । तिनलाई हराउनु पर्दछ । सम्पूर्ण देशभरी पार्टीमा रहेका ६५ वर्ष कटेका नेता तथा उम्मेदवारलाई हराउनुपर्छ । सबैले आ–आफ्नै तर्फबाट लागि पर्ने हो भने वा बाहिर भित्र रहेको दोहनलाई समाप्त गरेन भने त्यसले राष्ट्रिय राजनीतिमा बाचुन्जेलसम्म राज्य दोहन गर्ने र राज्यको अस्तित्वलाई समाप्त पारेर मर्ने छ । अबको नयाँ पुस्ता असफल रह्यो यसलाई हटाइएन भने राज्यलाई यिनीहरूले बाँकी राख्दैनन् ।

पछिल्लो समय नागरिकता विधेयकले विवाद सिर्जना भएको छ, यो पछाडिको कारण के देख्नुहुन्छ ? नागरिकता भनेको प्रत्येक देशको जियोग्राफी कस्तो छ भनेर त्यसको आधारमा नागरिकता तयार हुन्छ । राष्ट्र अनुसार नागरिकताको परिचय फरक–फरक हुन्छ । लोकतन्त्रमा महिला र पुरुषबीच भेदभाव गर्नु हुँदैन । राष्ट्रियता भनेको सबैको समान हुन्छ । जुन राष्ट्रको राजनीतिक स्थिति र लोकतन्त्र जस्तो छ, त्यसको आधारमा नै नागरिकता नीति हुन्छ । त्यसैले सांसदले पारित गरेको नागरिकता नीति राष्ट्रघाती छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)