फाइल फोटो

आर्थिक

३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल आयात 

By खबरहब

July 25, 2022

काठमाडौं– नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ । 

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ । 

उक्त मूल्यमा नेपालमा ५५ लाख ८६ हजार ५७८ वटा मोबाइल सेट भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरेको थियो । 

नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, बंगलादेश, युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका र भियतनामबाट आउने गरेका छन् । गत आर्थिक वर्ष चीनबाट मात्र नेपालमा २२ अर्ब ७७ करोड ९१ लाख ८९ हजार रुपैयाँको मोबाइल फोन भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।