अपराध

गायिका दिलमायाका हत्या आरोपी श्रेष्ठ कारागार चलान

By खबरहब

July 25, 2022

काठमाडौं । लोकदोहोरी गायिका दिलमाया कामी (सुनार) को हत्या आरोपी खिलबहादुर श्रेष्ठ (सूर्य) पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

आइतबार न्यायाधीश कृष्णजंग शाहको इजलासमा भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । प्रहरीका अनुसार श्रेष्ठले सुनारको हत्या गरेको स्वीकार गरेका थिए । श्रेष्ठ केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा चलान भएका काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

गत असार ११ गते काठमाडौंको नेपालटारस्थित डेरामा गायिका दिलमाया सुनार मृत अवस्थामा भेटिएकी थिइन् । त्यसपछि प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेको थियो ।

प्रहरीले हत्या आरोपी श्रेष्ठले फ्याँकेको दिलमायाको सल महाराजगञ्जस्थित कतारभिषा सेन्टर नजिकै सडकको पश्चिम किनारको खाली ठाउँको झाडीबाट बरामद गरेको थियो ।दिलमाया र श्रेष्ठ विगत ७/८ महिनाअघि देखि सँगै बस्दै आएको र आरोपी श्रेष्ठ घटना घटाएर फरार रहेको पाइएको प्रहरीले जनाएको छ ।