नेपालमा क्यान्सरका रोगी तुलनात्मक रुपमा बढिरहेका छन्। यो रोग शरीरका कुनै पनि अंगमा र जुनसुकै उमेरमा लाग्न सक्छ। विगतमा पनि क्यान्सरका बिरामी नभएका होइनन्। पहिला क्यान्सरलाई निको नहुने रोग भनेर चिनिन्थ्यो। तर, अहिले क्यान्सर समयमा नै उपचार गर्ने हो भने निको हुन्छ। अहिले रोग निदानको विकाससँगै यो रोग पत्ता लाग्नेक्रम पनि बढेको छ र बिरामी पनि बढेका छन्। नेपालमा नाक, कान, घाँटीको क्यान्सर (हेड एण्ड नेक क्यान्सर) बाट मात्रै वार्षिक ३ हजार ५ सयदेखि ५ हजार संक्रमितले ज्यान गुमाउने गरेका छन्। वार्षिक यो रोगबाट संक्रमित हुनेको संख्या लगभग ३० हजार रहेको अनुमान छ। विश्वमा बढी देखिने क्यान्सरको सूचीमा नाक, कान, घाँटीको क्यान्सर पाँचौँ नम्बरमा पर्छ। तर, नेपालका अस्पतालमा उपचारका लागि आएका बिरामीको तथ्यांकले पुरुषमा फोक्सोको क्यान्सरकै हाराहारीमा र महिलामा पाठेघर र स्तन क्यान्सरपछि हेड एण्ड नेक क्यान्सर देखिने गरेको छ। यसै सन्दर्भमा डा. रोशन प्रजापतिसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः
पछिल्लो समय पुरुषमा फोक्सोको क्यान्सर र महिलामा पाठेघरको क्यान्सरपछाडि धेरै देखिने भनेर घाँटीको क्यान्सर भनिएको छ यसलाई हामीले कसरी बुझ्ने ? यो घाँटीको क्यान्सर भनेको शरीरमा कोशिकाहरू अनियमित रूपमा वृद्धि हुनु हो। त्यसलाई समयमा नै नियन्त्रण गरिएन भने पछि विकराल अवस्था देखिन्छ। यसले अन्तमा मृत्यु पनि हुने गर्दछ। जसरी अरू भागमा क्यान्सर हुन्छ, यो पनि त्यस्तै हो। नाक, कान, घाँटीको क्यान्सर एउटै हो। यसमा पनि हाम्रा कोशिका अनियमित रूपमा वृद्धि हुँदै जान्छन्। कोशिकाहरू वृद्धि हुने कारण भनेको धूम्रपान तथा मद्यपानको सेवन हो। सुर्तीजन्य पदार्थको सेवन गर्नेहरु घाँटी तथा मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ। त्यो बहेक कतिपय क्यान्सर भाइरसका कारणले पनि हुन्छ। एचपीभी भाइरस, जसका कारणले आरोफाइसर मुखको क्यान्सर र नाइजोफाई नाकको क्यान्सर हुने गर्छ। कतिपय अवस्थामा वातावरणीय र वंशानुगत कारणले पनि क्यान्सर हुनसक्छ। यस्तो खालको क्यान्सर हाम्रो देशमा धेरै छ। विश्वमा सन् २०२० मा ग्लोबल क्यालीले गरेको अनुसन्धानलाई हेर्ने हो भने त्यसमा ६ महिने क्यान्सर छ। त्यसमा दोस्रो स्थानमा हाम्रो देश पर्न आउँछ।
धेरै बोल्ने मान्छेमा पनि यो घाँटीको क्यान्सर धेरै हुन्छ भनिन्छ, यसमा कत्तिको सत्यता छ ? धेरै बोल्नेमा यो क्यान्सर धेरै हुन्छ भन्ने त छैन। तर, हाम्रोमा यस्तो खाले क्यान्सरको प्रमुख कारण धूम्रपान र मध्यपान रहेको पाइएको छ। कोही मान्छे काठको धुलोमा काम गर्छ भने उसमा पनि यस्तो खाले क्यान्सर हुनसक्ने सम्भावना रहन्छ।
नेपालमा अहिलेसम्म कस्ता–कस्ता व्यक्तिमा वा उमेर समूहमा यो घाँटीको क्यान्सर बढी देखिएको छ ? कोशारावस्थामा पनि भाइरसका कारणले क्यान्सर भएको पाइन्छ केही मात्रामा। ४० वर्षभन्दा माथिका व्यक्तिमा अझ बढी देखिएको छ। व्यक्तिले धुम्रपान सेवन गरेको छ भने कारण त्यही हो। बढी ४० वर्ष कटेका मानिसमा यस्तो क्यान्सरको समस्या बढी देखिएको छ।
आफूलाई घाँटीको क्यान्सर भयो भनेर कसरी बुझ्ने वा कस्तो लक्षण देखापर्यो भने घाँटीको क्यान्सर हुदैँछ भनेर बुझ्ने ? व्यक्तिमा कुनै पनि अस्वाभाविक लक्षण देखा पर्यो भने त्यसलाई बेवास्ता गर्नु हुँदैन। कहिलेकाहीँ सानो घाउ खटिराबाट पनि सुरु हुन सक्छ। यो अवस्थामा मानिस मेडिकलमा जाने र भिटामिनको कमी भयो भनेर औषधि किनेर खानुहुन्छ। त्यसैले सानो घाउ, मुखबाट रगत बग्यो भने यो नाक कान, घाँटी तथा मुखको क्यान्सर हुनसक्छ। सामान्य नठानी समयमा नै सम्बन्धित चिकित्सकसँग परीक्षण गराइहाल्नुपर्छ।
समयमा नै अस्पताल गएन भने पछि कस्तो जोखिम देखा पर्न सक्छ ? कुनै पनि क्यान्सर सुरुमा नै पत्ता लाग्यो भने भने साधारण अप्रेसनबाट पनि निको हुन्छ। तर, यो जति ठूलो हुँदै गयो अप्रेसन विधिबाट टाढा हुँदै जान्छ। निको पार्न गाह्रो हुन्छ। उपचार पनि रेडियो थेरापी, केमो थेरापी र त्योभन्दा महँगो थेरापी गर्नुपर्छ र अझै लापरवाही गरियो भने शरीरको एक भागबाट अर्को भागमा सर्दै जान्छ।
सुरुवाती अवस्थामा अस्पताल पुग्यौँ भने कसरी उपचार हुन्छ र पछाडि पुग्यौँ भने कसरी उपचार हुन्छ ? सुरुवाती अवस्थामा अस्पताल पुगियो भने हामीले विधिपूर्वक चेक गर्छौँ। यदि क्यान्सर प्रमाणित भयो भने सुरुवाती अवस्थामा नफैलिएको रहेछ भने साधारण अप्रेसनबाट पनि त्यसलाई पूर्ण रूपमा निको पार्न सक्छौँ। पछि तेस्रो र चौथो स्टेज हुँदै गयो भने अप्रेसनको सम्भावना एकदमै कम हुन्छ र त्यो बेला हामी बिरामीलाई सजिलो हुनका लागि किमो थेरापी मात्र दिने गर्छौँ।
किमो थेरापी कस्तो अवस्थामा दिने हो ? किमो थेरापी भनेको एउटा स्लाइनबाट दिने औषधि हो। यसको काम एउटा रेडियो थेरापी दिने बेलामा रेड थेरापीको असर बढाउन दिइन्छ र अर्को भएको क्यान्सरको कोशिकालाई मारेर नष्ट गर्नलाई यो दोस्रो स्टेजबाट नै प्रयोग गर्दछौँ।
किमो थेरापी दिँदा कति समयसम्म दिनुपर्छ, बिरामीको अवस्था हेरेर हो या क्यान्सर कति फैलिएको छ त्यसको आधारमा हुन्छ ? सुरुको अवस्थामा रेडियो थेरापी दिएको बेला हप्तामा गरेर ६ पटक दिँदा पनि पुग्ने हुन्छ। स्टेज ४ पुगेपछि हामीले पूर्ण रूपले निको पार्न नसक्ने हुनाले किमो थेरापीले फाइदा हुञ्जेल मात्र हामीले दिन्छौँ। पछि बीचमा यो किमो थेरापीले काम गर्न छोडेको अवस्थामा अर्को किमो थेरापी चेन्ज गर्नुपर्ने हुन्छ। चौंथो चरणमा यति नै साइकल भनेर भन्न सकिँदैन। त्योभन्दा अगाडि हामीले ६ साइकल भनेर राख्छौँ।
यो ६ साइकल दिनको लागि सबै नेपालीमा आर्थिक अवस्था पुग्छ कि पुग्दैन ? अहिले नेपाल सरकारले क्यान्सरको बिरामीलाई एक लाख दिएको छ र केही अप्ठ्यारो भयो भने थप ५० हजार मिल्छ। बीमाबाट पनि ५० हजार गरेर दुई लाख पाइन्छ। जसले गर्दा उपचारमा धेरै भार हुँदैन।
नेपालको पछिल्लो समय नाक कान घाँटी सम्बन्धी के पाउनुभएको छ ? बाहिरको र हाम्रो यो क्यान्सरको अवस्था फरक छ। किनभने हाम्रोमा ढिलो अस्पताल आउनु हुन्छ। बाहिर समयमा नै पुग्ने बानी हुन्छ तराई क्षेत्रतिरका नेपालीले धेरै पान, पराग र गुड्का खानुहुन्छ। त्यसले गर्दा पनि यो समस्या बढेको छ। अहिले भक्तपुर क्यान्सर अस्पतालमा हेर्ने हो भने विश्वकै दोस्रो स्थानमा छ। यो पहिलाभन्दा अहिले बढेको छ।
यो समस्या नहोस् भनेर हामीले पहिला नै के के कुरामा ध्यान दिने ? सबैभन्दा पहिले त यो सुर्तीजन्य पदार्थको सेवनलाई रोक्ने यसको बिक्री वितरणमा नै सरकारले रोक लगाउनुपर्छ। मद्यपान पनि सेवन नगर्ने योबाट बच्ने उपाय नै धुम्रपान र सुर्तीजन्य पदार्थमा रोक लगाउनु हो।
घाँटीको क्यान्सर भएकाले कस्तो कस्तो खाना चाहिँ खानैपर्ने हो ? कुनै पनि क्यान्सर भएका बिरामीले पोषणयुक्त खाना खानुपर्छ। किमो थेरापीमा आउँदा खानामा रुची कम हुन्छ र यो नाक कान घाँटीको क्यान्सर भएको बिरामीमा निल्न पनि गाह्रो हुन्छ। त्यसैले झोलिलो खाने कुरा खानुपर्छ। काँचो चिज नखाने, पकाएको खानुपर्छ।
यो नाक कान घाँटीको क्यान्सरमा वंशाणुगत हुन्छ कि हुँदैन ? यसमा पनि केही प्रतिशत वंशानुगत हुन्छ। हामीले हाम्रो शरीरमा भएको रोगहरूमा सामान्य नसोच्ने, समयमा खाना खाने स्वस्थ खाना खाने, समय समयमा स्वास्थ्य उपचार गर्ने धुम्रपान तथा सुर्तीजन्य पर्दाथबाट टाढा रहने गर्नुपर्छ। प्रस्तुति : पुष्पाञ्जली बस्नेत