काठमाडौँ : पर्यटकीय दृष्टिकोणले सबैभन्दा महत्वपूर्ण काठमाडौँ उपत्यकाभित्र विश्व सम्पदा सूचिमा रहेका सम्पदाको संरक्षण कसरी गर्ने भन्ने बहस सुरु भएको छ । युनेस्कोले बिहीबार आइएसएसआरको कन्फ्रेन्स हलमा सम्पदाको संरक्षण र अबको ५० वर्षको योजनाका विषयमा सरकार र सरोकारवाला निकायसँग छलफलको आयोजना गरेको हो ।
जसमा काठमाडौँ उपत्यकाका पर्यटकीय क्षेत्रको संरक्षण, पर्यावरण अवस्था र विश्व सम्पदा सूचिमा परेका पर्यटकीय सम्पदा जोगाउने विषय महत्वपूर्ण बहस भएको हो । अहिले पर्यटकीय क्षेत्रमा हुनुपर्ने व्यवस्थापन छैन भने भूकम्पपछि सम्पदाको अवस्था झन् चिन्ताजनक छ ।
भूकम्प गएको आठौँ वर्षसम्म पनि काठमाडौँका धेरै पर्यटकीय क्षेत्र पुनर्निर्माण हुन सकेका छैनन् । त्यसबाहेक अरु समस्या पनि अहिले विश्वसम्पदा सूचिमा रहेका पर्यटकीय क्षेत्रमा छन् ।
ललितपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर रुद्र प्रसाद अधिकारीले ललितपुरको पाटनमा रहेको पाटन दरबार स्क्वायरमा शौचालय अभावदेखि ढल व्यवस्थापनको समस्या रहेको बताए । अहिलेकै अवस्थामा पाटन दरबार स्क्वायर व्यवस्थित नगर्दा भोलिका दिनमा झन् समस्या हुने भन्दै यसका लागि व्यवस्थित गर्नुपर्ने उनले बताए ।
पाटन दरबार स्क्वायर खुल्ला म्युजियमजस्तो भएको भन्दै उनले एसियाली विकास बैंक लगायत दाताको सहयोगमा व्यवस्थापन गर्ने काम भइरहेको बताए । पर्यटकीय क्षेत्र सरकारको प्राथमिकतामा नरहदा पनि बजेटको समस्या बढेको उनले बताए ।
स्थानीय तहमा विश्व सम्पदा सूचिमा रहेको पर्यटकीय क्षेत्रको संरक्षणका लागि स्थानीय तहले नै निगरानी गर्नुपर्ने विषय ऐनमा समेट्नुपर्ने उनले बताए । ललितपुर महानगरपालिकाले अरु विभिन्न ९ वटा परियोजनामा पनि काम गरिरहेको उनले बताए ।
पुरातत्व विभागका देवेन्द्र भट्टराईले काठमाडौँ उपत्यकाको अवस्था पहिले भन्दा चुनौतिपूर्ण भएको बताए । काठमाडौँ सम्पदाको संरक्षण, त्यसबारेमा आवश्यक सचेतना तथा पुरातत्व सामग्रीको संरक्षणका लागि आवश्यक काम गर्नका लागि समन्वय नभएको पनि उनले बताए ।
हनुमान ढोका दरबार स्क्वायरकी अधिकृत माया अर्यालले म्युजियम व्यवस्थापन नहुँदा धेरै सकस थपिएको बताइन् । म्युजियम अवलोकनका लागि दिनमा सयौँ जना आउने भएपनि म्युजियम वरपरको वातावरण व्यवस्थित नहुँदा पर्यटक आवागमनमा समस्या भएको उनले बताइन् ।
साथै उनले सम्पदा र सम्पदाभित्रको महत्वपूर्ण क्षेत्रको व्यवस्थापनका बारेमा स्थानीय तह, पर्यटकीय निकाय र संघीय सरकारबीच समन्वय नभएको बताइन् । समन्वय नहुँदा अहिले धेरै सम्पदा क्षेत्रको हालत भद्रगोल भएको पनि उनले बताइन् ।
यस्तै बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक नयन कुमारले सम्पदाभित्र आइपर्ने चुनौति व्यवस्थापन गर्न असहज हुने बताए । कहिलेकाँही माग्ने आएर सताउने, कहिलेकाँही बाँदरले सताउने, कहिलेकाँही स्थानीय युवा युवतीको अश्लील हर्कतदेखि केटाकेटीले चेतना नपुर्याउँदा विश्व सम्पदा सूचिमा परेका सम्पदाको गरिमा जोगाउनै हम्मे हम्मे पर्ने गरेको उनले बताए ।
सम्पदाको महत्व र पर्यटकीय क्षेत्रबारे पर्याप्त रुपमा जानकारी फैलाउन आवश्यक रहेको पनि उनले बताए । यस्तै स्वयम्भु संरक्षण व्यवस्थापन समितिका इन्जिनियर राजेश सुवालले विश्व सम्पदा सुचिमा रहेको पर्यटकीय क्षेत्रको संरक्षणका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव डा.सुरेश श्रेष्ठले पर्यटन क्षेत्रको गहना भनेकै विश्व सम्पदा सूचिमा रहेका पर्यटकीय क्षेत्रको संरक्षण भएकाले सबै जनाले एक अर्कासँग सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले कार्यक्रममा विभिन्न वक्ताको कुरा सुन्दा थुप्रै समस्या देखिएको भन्दै यसका लागि आपसी सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । साथै उनले आगामी दिनमा यस किसीमका समस्या उत्पन्न भएलगत्तै समाधानका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा आइसेटका कार्यकारी निर्देशक कञ्चन दिक्षितले जलवायु परिवर्तनको असर र पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभावका विषयमा छोटो कार्यपत्र प्रस्तुत गरेका थिए । ‘द नेक्स्ट ५० डायलग’ कार्यक्रम संयोजक सोफी पाण्डे र इकोमोस नेपालकी सचिव एनी जोशीले सहजीकरण गरेका थिए ।