देश/प्रदेश

नागरिकता विधेयक प्रमाणीकरण विषयको रिटमाथि आज सुनुवाइ हुँदै

By खबरहब

September 25, 2022

काठमाडौं – नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी परेको रिटको सुनुवाइ आज हुने भएको छ। आजका लागि पेसी तोकिएको भएपनि समय भने निर्धारण भइसकेको छैन। यसअघि शुक्रवारका लागि पेसी तोकिएकोमा हेर्न नभ्याइने सूचीमा परेपछि आजका लागि सुनुवाइ सरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपतिको कार्यालयले संविधानको उल्लङ्घन गरेको भन्दै नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णय भएपछि सो निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र नगरेको भए प्रमाणीकरण गर्नका लागि परमादेश दिन माग गर्दै रिट दर्ता भएको थियो।

अधिवक्ता सागर बराल, डा.सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टाछुट्टै रिट दर्ता गर्दै राष्ट्रपति कार्यालयविरुद्ध रिट दर्ता गरेका हुन्।

बिहान साढे १० बजे सार्वजनिक गरिने पेशी सूचीमा नागरिकतासम्बन्धी विधेयक कसको इजलासमा परेको छ भन्ने थाहा हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।