अन्तर्राष्ट्रिय

कार्लसनलाई हार स्वीकार्नै कठिन

By मनोज घिमिरे

September 25, 2022

म्याग्नस कार्लसन र हान्स नेइम्यानकाबीच यस महिनाको सुरुवातमा खेल भएको थियो। सिन्क्वीफील्ड कपको तेस्रो चरणमा यी दुईको भेट भएको थियो। १९ वर्षीय अमेरिकी खेलाडी नेइम्यान सबै भन्दा कम वरीयताका थिए। वर्षौंदेखि विश्व चेसमा एकल दबदबा राखेका कार्लसन सो खेलमा सहजै विजयी हुने अनुमान गरिएको थियो।

क्लासिकल खेलमा पछिल्ला ५३ खेलदेखि अपराजित भएका नर्वेका यी खेलाडीले सेतो गोटीबाट खेलेका थिए। यसै कारण पहिला गोटी चल्न पाउने फाइदा त त्यस खेलमा पनि छदै थियो। तर, सोचे जस्तो परिणाम आएन। सुरुवातदेखि नै कार्लसनमाथि हाबी नेइम्यानले एकपछि अर्को उत्कृष्ट चाल राखेर कार्लसनलाई खेल छाड्न बाध्य पारे।

सोही हारपछि कार्लसनले प्रतियोगिता नै त्यागे। प्रतियोगितामा अन्य सात चरण बाँकी नै थिए। त्यसपछि नै कार्लसनले उनले खेल छाडेको विषयमा चेस समुदाय र सञ्चारमाध्यमले चासो दिए। सम्भाव्य कारणका बारे अनेक चर्चा भए। यसै समयमा उनको एउटा सामाजिक सञ्जालमा प्रतिक्रिया आएको थियो कार्लसनको त्यो ट्विटले संसारमा नै हल्ली खल्ली मच्चाएको थियो।

त्यस ट्विटमा सिधै चिटिङको कुरा त गरिएको थिएन। नेइम्यान माथि कुनै आरोप पनि थिएन। तर, चिटिङको शङ्का लागेर प्रतियोगिता छाडेको आशय भन्ने बुझ्न सकिन्थ्यो। कार्लसनले आफ्नो ट्विटमा फुटबल प्रशिक्षक जोसे माउरिन्होको भिडियो समेत पोस्ट गरेका थिए। सो भिडियोमा माउरिन्होले भनेका थिए ‘यदि मैले साँचो बोलेँ भने, म ठुलो समस्यामा पर्न सक्छु।’

यसको लगत्तै ८ सेप्टेम्बरका दिन चेसको सबैभन्दा ठूलो अनलाइन प्लेटफर्म चेस डटकमले नेइम्यानको नाम चिटिङ गरेकाले हटाइएको जानकारी गरायो। विश्व चेस जगतका लागि यो अर्को सनसनीपूर्ण समाचार थियो।

यो हल्ला चल्दै गएपछि नेइम्यानले यस अगाडि नै आफू १२ वर्ष भएको समयमा र अर्को पटक १६ वर्ष पुरा भएपछि कम्प्युटर खेलमा चिटिङ गरेको स्वीकार गरे। तर, उनले बोर्डमा कहिले पनि गलत नगरेको बताइ नै रहे। उनले आफूलाई निर्दोष साबित गर्नका लागि नाङ्गै खेल्न समेत तयार भएको प्रतिक्रिया दिए। उनले चेस डटकमका सञ्चालक, कार्लसन र हिकासु नाकामुरा लगायत खेलाडी उनको जीवन बरबाद गर्न लागि परेको गम्भीर आरोप समेत लगाए।

‘यदि उनीहरूले पुरै नाङ्गो भएर खेल्ने प्रस्ताव ल्याउँछन् भने पनि म त्यसलाई स्वीकार गर्छु’, उनले भने, ‘म डराउने कुरै आउँदैन। म सफा छु। यदि उनीहरूले मलाई जिरो इलेकट्रोनिक्स ट्रान्समिसन भएको बन्द कोठामा खेलाउँदा पनि तयार छु। म यहाँ जित्नका लागि आएको हुँ र यो मेरो एक मात्र लक्ष्य हो।’

चेसमा यस किसिमको चोरी र गलत हथकण्डाको हल्ला नयाँ होइन, धेरै पुरानो हो। स्मार्ट फोनको आविष्कारसँगै यो अझ सहज भएको छ। उत्कृष्ट चेस एप बलिया र संसारका शीर्ष खेलाडी भन्दा पनि भरपर्दो हुन थालेका छन्। पछिल्लो समय फोन मात्र होइन, इलेकट्रोनिक्स डिभाइस नै प्रतिबन्ध हुन थालेका छन्। तथापि चोरीका घटना भने भइनै रहेका छन्।

चेसकी महान् र लोकप्रिय खेलाडी सुसन पोल्गरकै विचारमा पनि चेसमा चिटिङ एउटा गम्भीर समस्या हो। सौखिन तहमा समेत यस्ता घटना भएका छन्। बच्चाको प्रतियोगितामा धेरै पटक अभिभावक र प्रशिक्षकलाई खेल हेर्न नै बन्देज लगाउनु पर्ने अवस्था पनि सृजना भएका छन्।

कतिसम्म भने सुसनले सिमल्टेनिस खेल्दा पनि उनी चाल राखेर अर्को बोर्डमा पुगेर आउँदा सँगै साथी मोबाइल लिएर उभिने र त्यसबाट सही चाल निर्देशन गर्ने सम्मका घटनाको अनुभव गरेकी रहिछिन्। उनको विचारमा माथिल्लो तहको खेलमा यस्ता चिटिङ सहज हुँदैनन्। तथापि यदाकदा प्रसङ्ग भने उठ्ने गरेका छन्।

सन् २००६ यता ट्वाइलेट गेट स्क्यान्डल भएको छैन। एक पटक विश्व च्याम्पियनसिप च्यालेन्जर भासेलिन टोपोलोभको टिमले विश्व च्याम्पियन भ्लाडिमिर क्रामिनिकको टिमलाई बाथरुममार्फत् चिटिङ गरेको आरोप लगाएको थियो। यसको अध्ययन गरेको प्राध्यापक केनेथ रेगन भने क्रामिनिकले चोरी गरेको कुनै पनि आधार फेला नपरेको बताउँछन्।

सन् १९७८ मा विश्व च्याम्पियनसिप च्यालेन्जर भिक्टर कोरोच्नोइको टिमले एनातोली कार्पोभको टिमलाई दही दिने बहाना बनाउँदै चिट गरेको आरोप लगाएको थियो। खास चालको समयमा खाद्यान्न सहयोग गरेको आरोपसमेत लागेको थियो। कार्पोभ सम्मोहन गर्ने शैलीले बसेका भन्दै उनका विपक्षीले यसबाट बच्न चस्मा लगाएका थिए।

कार्लसनको केस भने फरक हो। उनी आफैंले प्रस्ट आरोप भने लगाएका छैनन्। तथापि यसका बारे विश्व चेसले खोजी सुरु गरेको छ। कसैले नेइम्यानको पछिल्लो २० महिनाको उन्नति र प्रगतिका बारे धारणा बनाउनु पर्ने बताएका छन्। २० महिना अगाडी वरियतामा ८सय भन्दा बाहिर रहेका उनी अहिले वरियतामा शीर्ष ५० भित्र अटाएका छन्।

नाकामुराले नेइम्यानको प्रगति एकदमै छिटो भएका बताएका छन् भने अन्य धेरै खेलाडीले संसारका थुप्रै जुनियर खेलाडी भन्दा नेइम्यानको उदय छोटो समयमा भएकोमा सहमति व्यक्त गर्न थालेका छन्।

अहिले नेइम्यान माथि सहानुभूति देखाउनेको जमात पनि बढ्न थालेको छ। अन्तर्राष्ट्रिय मास्टरसमेत रहेका प्राध्यापक रेगनले कार्लसनविरुद्धको खेलमा चिटिङको कुनै प्रमाण फेला नपरेको बताएका छन्। यसैगरी वर्ल्ड च्याम्पियनसिपको फाइनल चरणमा प्रतिस्पर्धा गरी सकेका निगेल सर्टले पनि नेइम्यानले चोरी गरेको कुनै प्रमाण फेला नपरेका कारण उनलाई विवादमा तान्न आवश्यक नहुने प्रतिक्रिया व्यक्त गरी सकेका छन्।

उनले एक पटक गलत गरेको थाहा भएमा या प्रमाणित भएमा क्यारियर नै सकिने भएका कारण ठूला प्रतियोगितामा यो व्यवहारिक नहुने बताएका छन्। साना प्रतियोगिता र थोरै पुरस्कार राशि भएको प्रतियोगितामा मात्र यस्तो हुने सर्टको धारणा छ।

उनकै विचारमा लामो समय संसारका दबदबा भएका कारण कार्लसन माथि यो हार स्वीकार गर्न दबाब भएको सर्टको सोच छ। कार्लसन सन् २०१३ देखि लगातार विश्व च्याम्पियन भएका हुन्। गत वर्ष उनले यस उपाधि रक्षा नगर्ने बताउँदै संसारलाई आश्चर्यमा पारेका थिए। उनी अहिले पनि शीर्ष वरियताका खेलाडी हुन्। पोल्गर पनि नेइम्यानको बारे अनुमानकै आधारमा धारणा बनाउनु गलत भएको बताउँछिन्।

यो प्रसङ्ग यत्तिमा रोकिएन। गत सोमबार एक अनलाइन प्रतियोगितामा फेरि यी दुई सहभागी थिए। कार्लसनले एक चाल चल्ने बित्तिकै नेइम्यान सहभागी भएका कारण प्रतियोगिता त्यागे। प्रतियोगितामा नेइम्यान क्वार्टर फाइनलबाट बाहिरिएका थिए। पोल्गारकै विचारमा अहिले कार्लसनको गतिविधि खेल भावनाको विरुद्धमा भइरहेको छ। यो खेलका लागि स्वीकार्य छैन। उनको यो हरकतलाई संसारका सञ्चार माध्यमले चासो पूर्वक लिएका छन्। अमेरिकी सञ्चारकर्मी ट्रभर नोह र स्टेफन कोलबर्टले पनि यस घटनाको आलोचना गरेका छन्।

नेइम्यानले भने कार्लसनले कसरी खेलको सुरुआत गर्ने छन् भनेर अनुमान गरेर तयारी गरेको बताएका छन्। त्यो अनुमान सही साबित भएको पनि उनले सञ्चार माध्यमसँग बताइ सकेका छन्। चेसमा चिटिङ तल्लो तहको गम्भीर समस्या हो। उच्च तहमा यो व्यवहारिक कुरा होइन। बिना प्रमाण यो गम्भीर आरोप कसैलाई पनि लगाउन पनि मिल्दैन।

सायद नेइम्यान निर्दोष छन्। उनी झुटो भएको प्रमाणित भएनन् भने कार्लसनले खेल भावनाको खिल्ली उडाएको आरोप भने सहनु नै पर्ने छ। स्रोत : सीबीसी स्पोर्ट्स, बीबीसी