अन्तर्राष्ट्रिय

पाकिस्तानमा गहुँको मूल्यमा भारी वृद्धि : एसियाली विकास बैंक

By खबरहब

September 25, 2022

काठमाडौँ- आन्तरिक उत्पादनमा ह्रास र जनसंख्या वृद्धिसँगै माग बढेका कारण पाकिस्तानमा गहुँको मूल्यमा भारी वृद्धि भएको एसियाली विकास बैंकले जनाएको छ ।

मुलुकमा माग बढेको अवस्थामा विदेशबाट गहुँ आयात गर्न पाकिस्तानी ढुकुटीमा विदेशी मुद्राको सञ्चितीमाथि दबाब पैदा भएको बैंकको भनाइ छ ।

बैंकले हालै जारी गरेको प्रतिवेदनमा जनसङ्ख्या वृद्धि, सहरीकरण, औद्योगिकीकरणका कारण मुलुकमा खेतीयोग्य जमिन र पानीको स्रोतमा दबाब पैदा भएको उल्लेख छ ।

यसका कारण प्रतिव्यक्ति खेतियोग्य जमिन र सिँचाईका लागि आवश्यक पानी घट्दै गएको र अर्कोतर्फ खाना र औद्योगिक कच्चा पदार्थको माग भने बढेको बैंकले जनाएको छ ।

बैंकलाई उद्धृत गर्दै बिजनेश रिकर्डरले जनाएअनुसार मल, विषदी, कृषिजन्य मेसिनहरु र डिजेलजस्ता खेती गर्न आवश्यक वस्तुहरुमा चरम मूल्यवृद्धि भएको पाइएको छ ।

यसबाहेक चरम गर्मी, भारी वर्षा र बाढी पहिरोजस्ता कारणले पनि पाकिस्तानी किसानहरुलाई चिन्तित तुल्याएको बैंकको निष्कर्ष छ ।