तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

युगान्डाको विद्यालयमा भएको आगलागीमा परी ११ बालबालिकाको मृत्यु

By खबरहब

October 25, 2022

काठमाडौँ- मध्य युगान्डाको मुकोनो जिल्लाको एक विद्यालयमा भएको आगलागीमा मङ्गलबार ११ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा स्थानीय समयानुसार बिहान करिब १ बजे ‘स्कुल अफ द ब्लाइन्ड’ मा घटना भएको हो ।

आगलागीको कारण हालसम्म थाहा भएको छैन । तर आगलागीमा परी ११ जनाको मृत्यु हुनुको साथै अन्य ६ जना घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ । किसोगामा रहेको हेरोना अस्पतालमा गम्भीर अवस्थामा रहेको ती छ जना उपचार भइरहेको प्रहरीद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

युगान्डाका विद्यालयहरुमा बारम्बार आगलागी हुने गरेको पाइन्छ । गत जनवरीमा युगान्डाको राजधानी कम्पालाको एउटा विद्यालयमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको थियो ।

सन् २०१८ मा मध्य युगान्डाको एक उच्च माध्यामिक विद्यालयमा आगलागी हुँदा कम्तीमा नौ विद्यार्थीको मृत्यु भएको थियो ।