तस्वीर- युनिसेफ पाकिस्तान

अन्तर्राष्ट्रिय

पाकिस्तानमा पोलियोविरुद्ध देशव्यापी खोप अभियान सञ्चालन

By खबरहब

October 25, 2022

काठमाडौँ- पाकिस्तान सरकारले पोलियोविरुद्ध देशव्यापी खोप अभियान सञ्चालन गरेको जनाएको छ । सोमबारबाट पाकिस्तान देशभर सो अभियान सुरु गरिएको बताइएको छ ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पाकिस्तानमा पोलियोको प्रकोप देखिएकाले उन्मूलनका लागि देशव्यापी खोप अभियान सुरु गरिएको हो । यो अभियान एक हप्तासम्म चल्ने बताइएको छ ।

अभियान सोमबारबाट सुरु गरिएको हो । सोमबार पाकिस्तानी स्वास्थ्यमन्त्री अब्दुल कादिर पटेलले सो अभियानको सुरुवात गरेका हुन् ।

खोप अभियानअनुसार पाकिस्तानका पाँच वर्ष मुनिका सबै बालबालिकालाई पोलियोविरुद्धको खोप दिइने छ ।

यो अभियान पाकिस्तानका दशौँ लाख बालबालिकासम्म पुग्ने मन्त्री कादिर पटेलले बताए । उनले देशबाट पोलियो उन्मूलन गर्ने यो ठूलो अभियान भएकाले यसका लागि सहयोग गर्न यहाँका सबै अभिभावकलाई आग्रह गरे ।

खोप अभियानमा खैबर पख्तुनख्वा प्रान्तका बालबालिकालाई विशेष ध्यान दिइने छ । उनीहरुलाई घरघरैमा पुगेर पनि खोप लगाउन भनिएको छ ।

पाकिस्तानमा यो वर्ष २० जना बालबालिकामा पोलियोको सङ्क्रमण भेटिएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका बालबालिकामा बढी मात्रामा पोलियो देखिएको बताइएको छ ।