राजनीति

राजनीति विकासका लागि : नेता लेखक

By खबरहब

October 25, 2022

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुर क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखकले राजनीति विकासका लागि भएको बताएका छन् ।

आज भीमदत्त नगरपालिका–१४ को बस्ती भेलालाई सम्बोधन गर्दै नेता लेखकले राजनीति कसैलाई पदमा पु¥याउनका लागि मात्रै नभएको बताए । ‘राजनीति विकासका लागि हो, विकास समृद्धिका लागि हो’, उनले भने, ‘राजनीति कसैलाई पदमा पु¥याउनका लागि मात्रै गरिन्छ भने त्यसको अर्थ हुँदैन र त्यो गन्तव्यमा पुग्दैन ।’

उनले राजनीतिलाई विकाससँग जोड्न आवश्यक रहेको बताए । ‘विकासलाई समग्र समाजको समृद्धिसँग जोड्न सकिन्छ, हामीले जनतालाई केही दिन सकेनौँ भने यो व्यवस्थाप्रति फेरि निरासा हुन्छ’,उनले भने, ‘त्यसैले मैले कञ्चनपुरमा त्रिदेशीय व्यापारिक नाकाको सम्भावना देखेको छु ।’

उननले नेपाल–भारत र नेपाल चीन जोड्नका लागि कञ्चनपुरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्ने आफ्नो चुनावी एजेन्डा रहेको बताए । ‘त्रिदेशीय नाकाका रूपमा विकास गर्न केही काम भएका छन्’, उनले भने, ‘यसलाई पूर्णता दिएर अगाडि बढ्नुपर्छ भन्ने मेरो प्राथमिक एजेन्डा हो ।’ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अहिले दलका उम्मेदवार घरदैलोमा पुगेर मतदाता रिझाउन व्यस्त छन् ।