राजनीति

बालकोटमा नेताहरुको घुइँचो, बालुवाटार क्षणभरमै सुनसान

By खबरहब

December 25, 2022

काठमाडौँ- सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रधानमन्त्री निवास बालुवाटार क्षणभरमै सुनसान बनेको छ । नयाँ सरकार गठनका लागि निरन्तर छलफलमा रहेको गठबन्धनमा आइतबार अन्तिम समयसम्म सहमति जुट्न नसक्दा राजनीतिक माहोल नै परिवर्तन भएको हो ।

नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कसैलाई नदिने अडान लिएपछि गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट हानिएका छन् । बालकोटमा अहिले नयाँ सरकार गठनको लागि छलफल जारी छ ।

उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राई समेत सहभागी छन् । उनीहरुबीच सत्ता सहकार्यमा सहमति जुट्दा आजै सरकार गठन हुन सक्ने सम्भावना प्रबल छ ।