अन्तर्राष्ट्रिय

मानव अधिकार विरोधी गतिविधिको छायामा शीतकालीन ओलम्पिक

By मनोज घिमिरे

January 26, 2022

काठमाडौँ– बेइजिङ, शीतकालीन र गृष्मकालीन दुवै ओलम्पिक आयोजना गर्ने पहिलो सहरको रूपमा कीर्तिमान कायम गर्दै छ । तर, सन् २००८ को गृष्मकालीन ओलम्पिक आयोजना भएको सोही सहरमा आगामी ४ देखि २० फेब्रुअरीमा शीतकालीन ओलम्पिक आयोजना हुँदैछ ।

त्यो गृष्मकालीन ओलम्पिक भएको समय र शीतकालीन ओलम्पिक हुने २०२२ को बीचमा भने धेरै फरक भइसकेको छ । यसबीचमा संसारसामु आयोजक देशको छवि र उसलाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन छ । पहिलो त गृष्मकालीन ओलम्पिक पक्कै पनि शीतकालीन ओलम्पिकभन्दा पृथक र महत्त्वपूर्ण हुन्छ नै । साथमा यो कोभिडको समय पनि हो।

जिरो कोभिड नीति लिएको चीनमै आयोजना हुने यस खेलमा सरिक हुने आउनेले पक्कै पनि कठिनाइ भोग्ने छन् । त्यसो त कोरोना भाइरस जत्ति फैलँदै जाने छ, त्यत्ति नै संसारमा चीनको छवि खराब बन्दै जाने निश्चित छ । यस समयमा ज्यान गुमाउने ५६ लाखभन्दा बढीका आफन्तले पक्कै दुई वर्षअघि वुहानबाट निस्किएको कोभिड र संसारलाई यसको बारेमा जानकारी नै नदिई फैलाएको रोष चीन प्रति सधैँ रहने नै छ ।

जिरो कोभिड नीति लिएको चीनमै आयोजना हुने यस खेलमा सरिक हुने आउनेले पक्कै पनि कठिनाइ भोग्ने छन् । त्यसो त कोरोना भाइरस जत्ति फैलँदै जाने छ, त्यत्ति नै संसारमा चीनको छवि खराब बन्दै जाने निश्चित छ ।

यसपटक कसैलाई टिकट बिक्री गरिएको छैन । तर, समानताको नारा बोक्ने चिनियाँ कम्युनिस्ट शासनमा कम्युनिस्ट पार्टीकै वरिष्ठ अधिकारीले यो खेल हेर्ने अवसर पाउने छन् । उनीहरूका लागि निश्चित क्वारेनटाइन नियम र मापदण्ड कायम गरिएको छ ।

कोभिडभन्दा बाहेक अन्य यस्ता धेरै घटना विकसित भए, जसका कारण चीन सन् २००८ मा जे थियो त्यो अहिले छैन। यसै अवधिमा ७० हजार मानिसले ज्यान गुमाउने गरी सीचुवान प्रान्तमा भूकम्प गई सकेको छ । त्यस समयमा भूकम्प पीडितका लागि संसारले सहानुभूति व्यक्त गरेको थियो । किनकी चीन पनि सही बाटोमा भएको आभास धेरै देशलाई थियो ।

सन् २००८ को गृष्मकालीन ओलम्पिक सुरु हुँदा तेजीको अवस्था रहेको अर्थतन्त्र, पुरातात्त्विक महत्त्वका स्थानहरू, कलात्मक डिजाइनका साथै खुला संसारमा प्रवेश गरेको चीन संसारले देखेको थियो । अहिले सी चिन फिङको नेतृत्वमा चीन फरक ढङ्गले अगाडि बढेको छ ।

विभिन्न बहानामा अन्य धेरै राष्ट्रको सम्पत्ति दोहन गर्ने र आफ्नै देशका अल्पसङ्ख्यक तथा आफ्नो प्रभावमा रहेका अन्य भूभागमा नागरिकमा समेत मानव अधिकार विरोधी दण्ड बर्साउने देशको रूपमा चीनको छवि बनेको छ ।

सन् १९८९ मा भएको नरसंहारकारी तीयानमेन चोक घटनाका कारण चीनले सन् २००० को ओलम्पिक आयोजनाको अवसर गुमाएको थियो । चीनले गुमाएको अवसरकै कारण सिड्नीले ओलम्पिक आयोजना गरेको थियो । संसारलाई विश्वस्त तुल्याउनका लागि चीनले आफूमा केही परिवर्तन भएको देखाएको थियो ।

विदेशीलाई प्रवेश खुला लगायत विषयमा लचिलो भए पछि अन्तर्राष्ट्रिय समुदायले चीनलाई स्वीकार गर्दै सन् २००८ को ओलम्पिक आयोजनाको अवसर प्रदान गरेको थियो । सो समयमा पनि चिनियाँ अधिकारीले त्यो लचिलो नीतिलाई निरन्तरता दिने कसम खाएकै कारण बेइजिङ ओलम्पिक आयोजनाको अवसर संसारले दिएको हो ।

बेइजिङ ओलम्पिकको समाप्तिमा चीनमा धेरै परिवर्तन देखिए । खासमा अन्तर्राष्ट्रिय पत्रकारलाई गर्ने व्यवहारमा पनि परिवर्तन देखियो । बेइजिङ ओलम्पिकका लागि कतिपय भौतिक संरचना रातारात बनाइएका थिए ।

सबैभन्दा ठूलो परिवर्तन त त्यो समयमा अन्तर्राष्ट्रिय निकायले हेर्ने दृष्टिकोण र अहिले हेर्ने दृष्टिकोण बिचको भिन्नता हो । त्यस समयमा बेइजिङमा भएको गृष्मकालीन ओलम्पिकलाई अन्तर्राष्ट्रिय निकायले हार्दिकता पूर्वक ग्रहण गरेका थिए भने यस पटक शीतकालीन ओलम्पिकको आयोजना हुँदा धेरै देशले कूटनीतिक बहिस्कार गरेका छन् ।

यस कूटनीतिक बहिस्कारको कारण अल्पसङ्ख्यक उर्गुयस समुदायमाथि गरिएको जातीय विभेद मुख्य हो । यसका साथै हङकङमा लागु गरिएको राष्ट्रिय सुरक्षा ऐनले चीन मानव अधिकारी विरोधी भएको ठहर संसारका धेरै देशले गरेका छन् ।

थुप्रै गतिविधिको कारण अन्तर्राष्ट्रिय निकाय चीन प्रति कठोर बनेका छन् । सीसीपीको दासपूर्ण व्यवहारबाट उनीहरूकै नागरिकले चाँडो मुक्ति पाउनेमा अन्तर्राष्ट्रिय समुदाय विश्वास गर्न सकेको छैन ।

यो मात्र होइन अन्य थुप्रै गतिविधिको कारण अन्तर्राष्ट्रिय निकाय चीन प्रति कठोर बनेका छन् । सीसीपीको दासपूर्ण व्यवहारबाट उनीहरूकै नागरिकले चाँडो मुक्ति पाउनेमा अन्तर्राष्ट्रिय समुदाय विश्वास गर्न सकेको छैन ।

सन् २००८ को ओलम्पिकसँग अहिले केही समानता पनि छ । फिल्म निर्देशक झाम यीमीयुले नै समारोह प्रमुखको जिम्मेवारी पाएका कारण उद्घाटन र समापन समारोह त्यसै शैलीमा हुने धेरैले लख काटेका छन् ।

त्यसो त सांस्कृतिक क्रान्तिका नाममा उनले बनाएका चलचित्रको आलोचना पनि त्यत्तिकै हुने गरेको थियो । उनैको फिल्मका कारण धेरैलाई मर्न प्रेरित गरेको आरोप पनि लगाइने गरिएको छ । वर्तमान विश्वमा चीनले गरेको पछिल्ला वर्षका गतिविधिका कारण बिग्रँदो छविलाई दुई दिने नाटकीय समारोह मार्फत सपार्ने प्रयास उनले गर्ने छन् ।

वर्तमान विश्वमा चीनको स्थान कहाँ हो भन्ने देखाउन त्यो उद्घाटन र समापन समारोहमा प्रयास गरिने छ । परन्तु त्यो प्रयासले बढ्दै गएको आर्थिक मन्दीलाई ढाक्न सक्ने छैन । खेल नजिकिँदै गई रहेको समयमा धेरै देशको कूटनीतिक बहिस्कारको अर्थ पनि खोजी गरिन थालिएको छ ।

अमेरिका, बेलायत र अस्ट्रेलिया जस्ता देशले यो खेललाई कूटनीतिक बहिस्कार गरेका छन् । यी देशले उर्गुयस समुदाय माथि भएको दमन र देश छाड्न बाध्य बनाइएका अवस्था मात्र होइन, उनीहरूको सांस्कृतिक पहिचान नै मेटिन थालेको आरोप पनि लगाएका छन् ।

त्यसो त केही समय अघि टेनिस खेलाडी पेङ सुवइले एक वरिष्ठ चिनियाँ अधिकारीको यौन हरकतको कुरा सामाजिक सञ्जालमा राखेकी थिइन् । केही पछि उनले त्यो सामग्रीलाई हटाए पनि अन्तर्राष्ट्रिय निकायले यसमा चासो दिएको छ। चिनियाँ खेलाडी नै आफ्ना अधिकारीबाट सुरक्षित हुन सक्दैनन् भने अन्तर्राष्ट्रिय निकायले चीनलाई विश्वास गर्ने आधारका बारे प्रश्न उठ्न थालेको छ ।

कूटनीतिक बहिस्कारको प्रचलन विश्व खेलकुदमा नितान्त नयाँ भने होइन । तीन वर्ष अघि रुसमा भएको विश्वकप पनि बेलायतलगायत केही युरोपेली देशले कूटनीतिक बहिस्कार गरेका थिए । सर्जेइ र उनकी छोरी युलिसा स्क्रीपललाई बिख दिएको स्क्यान्डललाई लिएर बेलायतले यो कुरा अन्तर्राष्ट्रिय क्षेत्रमा उठाएको थियो ।

त्यस देशले गरेका गलत काम र गतिविधिलाई अनुमोदन गरेका ठहर हुने कारणले धेरै देशले यस्ता ठुला महोत्सवमा कूटनीतिक बहिस्कार गर्ने गरेका छन् । फ्रान्सेली राष्ट्रपति माक्रोनले टाढा बसेर यस खेललाई हेर्ने नीति लिए पछि यसले चीनलाई अझ क्षुब्ध बनाएको हो ।

पछिल्ला केही महिना हङकङ, इनर मङ्गोलिया र तिब्बतमा लगातार चिन विरोधी प्रदर्शन भए । त्यसो त यसको केही महिना अगाडी जीयाङजीङ प्रान्तको शिविरमा भएका यौन यातनाका विरुद्धमा बोलेको कारण त्यहाँकी एक शिक्षिका सेडिक नेदरल्यान्डमा निर्वासित जीवन बिताइ रहेकी छिन् ।

गएको मार्चमा प्रकाशित एक रिपोर्टका अनुसार जीयाङजीङ प्रान्तबाट २२ जना बिदेसिएका थिए । धम्की, कुटपिट र यातनाका कारण जनाउँदै विदेशीएका उनीहरू फेरि चीन फर्कन त्यहाँको मानव अधिकारको कारण असम्भव हुने जनाइसकेका छन् ।

१४ वर्षमा संसारमा धरै परिवर्तन भए । ती मध्येका धेरै परिवर्तन चीनमा नै भए । सो समय संसारलाई आफू सुधारको बाटोमा गएको आभास दिलाउने चीन १४ वर्ष पछि मानव अधिकारको सूचाङ्कमा सम्भवतः संसारको सबैभन्दा पछिल्लो देश बनेको छ ।

जीयाङजीङ त्यही प्रान्त हो, जुन प्रान्तमा १० लाख भन्दा बढी उर्गुयस र अन्य इस्लामलाई बन्दी बनाइएको छ । यातना गृहमा लगेर फोहोर सोहोर्न लगाउनेदेखि यौनजन्य हरकतसम्म उनीहरू माथि हुने गरेको जनाइएको छ ।

१४ वर्षमा संसारमा धरै परिवर्तन भए । ती मध्येका धेरै परिवर्तन चीनमा नै भए । सो समय संसारलाई आफू सुधारको बाटोमा गएको आभास दिलाउने चीन १४ वर्ष पछि मानव अधिकारको सूचाङ्कमा सम्भवतः संसारको सबैभन्दा पछिल्लो देश बनेको छ । यस बिचमा नै थुप्रै ज्यादतीका घटना शृङ्खलाबद्ध बाहिर आए ।

चीनले आफूलाई समृद्ध र शक्तिशाली देश भने पनि त्यहाँको आर्थिक मन्दी तथा रियल स्टेट लगायतका क्षेत्रको दुर्दशाको समाचार पनि बाहिर आइसकेका छन् ।

प्रदर्शनको हिसाबले १४ वर्ष अघि गृष्मकालीन ओलम्पिकमा पहिलो स्थानमा रहेको चीन त्यसको चार वर्षपछि लन्डन ओलम्पिकमा दोस्रो तथा सन् २०१६ को रियो ओलम्पिकमा तेस्रो स्थानमा झरेको थियो । भलै, यस पटक अन्य देश कोभिडको मारमा परेका कारण चीन दोस्रो स्थानमा उक्लन सफल किन नहोस् ।

यो १४ वर्ष पछिको महोत्सवले जत्ति भव्य भए पनि सायद चीनको मानव अधिकार विरोधी छायामा यो शीतकालीन ओलम्पिक पर्ने छ । एजेन्सीहरूको सहयोगमा