समाचार

हातको शल्यक्रिया गराएको केही घण्टामै बिरामीको मृत्यु

By खबरहब

January 26, 2022

जनकपुरधाम– जनकपुरधामस्थित राजजानकी होस्पिटलको लापरबाहीले एक महिलाको मृत्यु भएको आरोप लागेको छ ।

हात भाँचिएर उपचारका लागि आएकी सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ पिपरा बस्ने ५० वर्षीया चन्द्रकला कामतको मृत्यु भएको हो । उनको अस्पतालको लापरबाहीले मृत्यु भएको मृतकका छोरा रामसकल कामतले आरोप लगाएका छन् । चन्द्रकलाको हातको शल्यक्रियापश्चात् मृत्यु भएको थियो ।

गत माघ ८ गते भैंसीले पछार्दा हात भाँचेको उनलाई थप उपचारका लागि जनकपुरधामस्थित रामजानकी होस्पिटलमा ल्याइएको थियो । मंगलबार अस्पताल पुगेकी चन्द्रकलाको डा. संजय साहले बुधबार शल्यक्रिया गरेका थिए । अपरेशनपछि कामतलाई वार्डमा सारिएको थियो । तर, शल्यक्रिया भएको करिब तीन घण्टापछि आमाको मृत्यु भएको मृतकका छोरा रामसकलले बताए ।

यता, अस्पताल प्रशासनले मुटुको चाल कम हुँदा चन्द्रकलाको मृत्युको भएको दाबी गरेको छ । बिरामीको मृत्युको कारण शल्यक्रिया नरहेको अस्पतालका प्रशासन प्रमुख विकासचन्द्र गुप्ताले जिकिर गरेका छन् ।