खेलकुद

एसी मिलान र इन्टर मिलान बराबरीमा रोकिए

By खबरहब

February 26, 2022

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको एसी मिलान र साविक विजेता इन्टर मिलान बराबरीमा रोकिएको छ ।

शुक्रबार राति भएको खेलमा इन्टरले जिनोआसँग गोलरहित बराबरी खेल्दा मिलानले उडीनेजेसँग १-१ गोलको बराबरी खेल्यो।

जिनोआको मैदानमा पाएको मौकामा गोल गर्न नसक्दा इन्टर बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा मिलान पनि बराबरीमा रोकिएको हो । खेलको २९ औं मिनेटमा राफायल लियोले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । तर, खेलको ६६ औं मिनेटमा डेस्टिननी उडोगियोले गोल गर्दै उडीनेजेलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै इन्टरले शीर्ष स्थानको एसी मिलानसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । यस बराबरीसँगै मिलानले २७ खेलमा ५७ अंक जोडेको छ ।

इन्टरले २६ खेलमा ५५ अंक जोडेर दोस्रो स्थानमा छ । एसी मिलान २७ खेलबाट ५७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । जिनोआ १७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।