खेलकुद

चैत १८ बाट राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

By खबरहब

March 26, 2022

काठमाडौँ– नेपाल तेक्वान्दो संघले चैत १८ बाट १७ औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ ।

तेक्वान्दो संघले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्नसमेत यो प्रतियोगिताको आयोजन गर्न लागेको संघले जनाएको छ ।

२६ स्वर्ण, २६ रजत र ५२ कास्य पदकका लागि ७ प्रदेश र तीन विभागीय टिमका खेलाडीहरूले सिनियर र जुनियरतर्फ प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने संघका उपाध्यक्ष एवं आयोजक समिति अध्यक्ष भानबहादुर चन्दले जानकारी दिए ।

प्रतियोगितामा सिनियर तथा जुनियर गरी २६ वटा वजन समूहमा प्रतिष्पर्धा हुने पनि उनले जानकारी दिए ।

प्रतियोगितामा करिब ३६ लाख रुपैयाँ खर्च हुने संघले जनाएको छ ।

प्रतियोगिता दुई दिन चल्ने छ ।