अन्तर्राष्ट्रिय

‘शून्य कोभिड’ नीति असफलतासँगै चीनमा बढ्यो जनआक्रोश 

By खबरहब

March 26, 2022

काठमाडौँ – प्रेस, अभिव्यक्ति तथा प्रदर्शन स्वतन्त्रबाट विमुख चीनमा केही समय यता जन असन्तोष सडकमा पोखिन थालेको छ । मानिसहरु विरोध प्रदर्शनमा उत्रिन थालेका छन् ।

यसको पछिल्लो उदाहरण हो, चीनको प्रमुख व्यापारिक सहर शेनजेन र ग्यान्जाउमा हालै भएका विरोध प्रदर्शनहरु ।

वुहानमा महामारीको प्रारम्भपछि चिनियाहरु दुई वर्ष यता कोरोना भाइरसको मारमा परिरहेका छन्, जसबाट मुक्त हुने कुनै आशा देखिदैन । हुन त चीनले कोरोना भाइरसलाई तह लगाउन विश्वमै सबैभन्दा कडा मानिने ‘शून्य कोभिड नीति’ लागू गरिरहेको छ ।

यसका साथै चीनले सीमामा कडा प्रतिबन्ध लगाएको छ । डिजिटल ट्रयाकिङ पनि गरिरहेको छ  । ठूलो मात्रामा कोरोना परीक्षण पनि गरिरहेको छ । यसबाट गत वर्ष सारा विश्व कोरोना महामारीको चपेटमा परिरहेको बेला चीन भने बचिरहेको थियो ।

‘सीएनएन’का अनुसार पछिल्लो ओमिक्रोन भेरियन्टको प्रकोपलाई नियन्त्रण गर्न भने चीन असमर्थ भइरहेको छ । करोडौँ चिनिया नागरिक लकडाउनमा छन् । मानिसहरुलाई सडक–सडकमा ल्याएर परीक्षण गरिँदै छ ।

अरबौँ मानिसलाई कोरोना भ्याक्सिन लगाएको दाबी गर्ने चीनको भ्याक्सिन अहिले आएर असफल साबित भइरहेको छ । यसैका कारण चिनिया जनता आक्रोशित भइरहेका छन् ।

यति मात्र हैन, चीनको ‘शून्य कोभिड नीति’लाई लिएर पहिलो पटक जनताको ठूलो पङ्क्तिले प्रश्न गरिरहेको छ । चीनको टेक हब मानिने शेनजेन शहरमा गएको आइतबार ठूलो मात्रामा मानिसहरुले विरोध प्रदर्शन गरे । उनीहरु लामो समयदेखि शहरमा लागू गरिएको लकडाउनको विरोध गरिरहेका थिए ।

प्रदर्शनकारीहरुले सरकारतर्फ औँलो ठड्याउँदै भनिरहेका थिए, ‘तपाईँहरू यस्तो गर्न सक्नुहुन्न । हामीलाई खानाको आवश्यकता छ र भाडा पनि तिर्नुछ ।’एक भाइरल भिडियोमा अर्का एक प्रदर्शनकारीले भनेका छन्, ‘सबै खुला गर, हामी लकडाउन हटाउन माग गर्छौं ।’

यसअघि छेउकै सहर ग्यान्जाउको पनि एउटा भिडियो सार्वजनिक भएको थियो, जसमा हजारौँ मानिस लकडाउन तोड्ने प्रयास गरिरहेका थिए । बितेका दुई वर्षमा चीनमा यसखालको प्रदर्शनलाई आफैमा दुर्लभ घटना मानिएको छ ।

चीनका करिब दुई तिहाइ प्रान्त अहिले कोरोनाको अति संक्रामक ओमीक्रोन भेरियन्टको चपेटामा आइसकेका छन् । यसबाट करिब १० करोड मानिस पूर्ण या आंशिक लकडाउनमा छन् । सरकारले हरेक घरमा कोरोना परीक्षण अभियान चलाइरहेको छ । मानिसहरु लाम लागेर परीक्षण गराइरहेका छन् ।

‘जीरो कोभिड नीति’माथि प्रश्न उठी रहेकै बेला चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले भने ‘जीरो कोभिड नीतिमाथि बहस गर्ने समय नभएकाले कडाइका साथ सावधानी अपनाउनुपर्ने’ सन्देश प्रवाहित गरिरहेको छ ।

कोरोना संक्रमणबाट बच्न विश्वका धेरै मुलुकले अतिरिक्त खुराक (बुस्टर डोज) पनि अगाडी सारेका थिए । पहिलेदेखि नै खोप लगाएकाहरुलाई बुस्टर डोज लगाइएको थियो । सन् २०२१ डिसेम्बरमा जब ओमीक्रोन भेरियन्ट तीव्र रुपमा फैलन थाल्यो, चीनको ‘सीनो भ्याक’ खोप त्यसविरुद्ध लडन असफल साबित भयो ।

हङकङ विश्व विद्यालयले गरेको एक अध्ययन अनुसार ‘सीनो भ्याक’ ओमिक्रोनविरुद्ध एन्टी बडी विकसित गर्न असफल भएको छ । यसका साथै चीन सरकार पहिले नै दुई डोज खोप लगाइसकेका मानिसलाई पर्याप्त सुरक्षा दिन पनि असमर्थ रहेको छ ।

एक सरकारी रिपोर्टका अनुसार ८० वर्षभन्दा बढी आयुका ३ प्रतिशत मानिसको मृत्यु चिनिया भ्याक्सिन ‘सीनो भ्याक’का दुई डोज लिएपछि पनि भएको छ । एक डोज लिनेको मृत्यु दर ६ प्रतिशत छ । यसका साथै चिनिया राष्ट्रिय स्वास्थ्य आयोगको एक दस्तावेजबाट के पत्ता लागेको छ भने चीनको खोपका कारण ल्यूकेमियाको समस्या बढ्न थालेको छ ।

खोपको असफलताका कारण चिनिया अधिकारी समक्ष संक्रमण चेनलाई तोड्न जर्बजस्ती लकडाउनबाहेक अर्को विकल्प देखिँदैन । ठूला शहरहरु बन्द गरिएका छन्, मानिसलाई घर–घरमा कैद गरिएको छ । बजार बन्द छ भने उद्योगको आपूर्ति श्रृंखला टुटेको छ । यसबाट मानिसहरुको दिनचर्या प्रभावित भएको छ ।

साथै मानिसहरुको आय आर्जनको श्रोत बन्द भएको छ । यसले गर्दा चिनिया नागरिकमा बेचैनीसँगै सरकारप्रति आक्रोश बढ्दै गएको छ । शेनजेन र ग्वान्जाउमा भएका प्रदर्शनले चिनिया जनतामा गुम्सिएको आक्रोशले धैर्यको सीमा नाघ्दै गएको संकेत गर्दछ ।

(स्रोत : सीएनएन)