तस्वीर- विकिमिडिया कमन्स/बीबीसी

अन्तर्राष्ट्रिय

‘केही घण्टामै युक्रेनलाई हराउछौँ’ भन्ने रुसी लेफ्टिनेन्ट जर्नेल मारिए

By खबरहब

March 26, 2022

काठमाडौं– युक्रेनमा अर्का वरिष्ठ सैनिक अधिकारी मारिएका छन् । युक्रेनको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार दक्षिणी शहर खेर्सनमा रुसी सेनाका वरिष्ठ सैनिक अधिकारी लेफ्टिनेन्ट जनरल याकोभ रेजान्त्सेभ मारिएका हुन् ।

उनी रुसको ४९ औं कम्बाइण्ड आर्मीका कमाण्डर रहेको जनाइएको छ । रुसी सैनिक बीचको गोप्य कुराकानी सुनेको दाबी गर्दै युक्रेनी रक्षा मन्त्रालयले उनले रुसी आक्रमण शुरु भएको चौथो दिन युक्रेनलाई केही घण्टाको अवधिमै पराजित गर्ने दृढता व्यक्त गरेको जनाएको छ ।

यसअघि युक्रेनी मिडियाहरुले उनी खेर्सन शहरको चोर्नोबयिभ्का हवाई क्षेत्रमा मारिएको दाबी गरेका थिए । युक्रेनी रक्षा मन्त्रालयले उनी आधारित रुसी सैन्य शिविरमा व्यापक हमला गर्दा उनको मृत्यु भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनमा जारी आक्रमणमा मारिने उनी सातौँ वरिष्ठ सैनिक अधिकारी र दोश्रो लेफ्टिनेन्ट जनरल हुन् । यसअघि सोही क्षेत्रमा अर्का रुसी लेफ्टिनेन्ट जनरल आन्द्रेई मोर्दभिचेभ मारिएका थिए ।

तेज युक्रेनी प्रतिरोधका कारण हाल रुसी सैनिक अधिकारीको मनोबल गिर्दो अवस्थामा रहेको बताइएको छ ।