तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

सिन्जियाङमा उइग्युर बालबालिकालाई चिनियाँ प्रोपागाण्डा घोकाइने गरेको खुलासा

By खबरहब

March 26, 2022

काठमाडौं- अल्पसङ्ख्यक उइग्युर मुसलमानको बसोबास रहेको चीनको पश्चिमी स्वशासित क्षेत्र सिन्जियाङमा केटाकेटीलाई चिनियाँ भाषामा प्रोपागाण्डा घोकाउने गरेको खुलासा भएको छ ।

केही दिनअघि एक उइग्युर ट्विटर अकाउन्टले सार्वजनिक गरेको भिडियोमा केटाकेटीलाई चिनियाँ भाषामा चिनियाँ प्रोपागाण्डा घोकाइरहेको देखिएको हो ।

उक्त भिडियोमा बालबालिकाहरु चिनियाँ भाषामा ‘ताइवान चीनको अभिन्न अङ्ग हो’, ‘सिन्जियाङ चीनको अभिन्न अङ्ग हो’, ‘हामीले कमरेड माओले भनेजस्तै हरेक दिन अध्ययन गरौं र अघि बढौं भन्ने भावना मनमा लिनुपर्छ’ जस्ता नारा घोकाइएको देखिन्छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार तीमध्ये केही बालबालिकाको उमेर ६ वर्षको मात्रै रहेको बताइएको छ ।

आलोचकहरुले भने यसले चीनले सिन्जियाङ क्षेत्रमा अल्पसङ्ख्यक उइग्युर पहिचान मासेर चिनियाँ पहिचान जबरजस्ती लाद्न खाजेको अर्थमा विश्लेषण गरेका छन् ।