समाचार

दिनभर के के भयो देशभर ? (अडियोसहित)

By खबरहब

March 26, 2022

अडियो सुन्नुहोस्ः

गैरआवासीय नेपालीको ज्ञान, प्रविधि, विकास र धन मुलुकका लागि उपयोग गनुपर्छः राष्ट्रपति भण्डारी राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीको ज्ञान, प्रविधि, विकास र धनलाई मुलुकका लागि उपयोग गर्न आह्वान गरेकी छन् । आज ललितपुरमा गैरआवासीय नेपाली संघ (एनआरएन) को १० औं महाधिवेशन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृतिलाई विश्वसामु चिनाउन गैरआवासीय संघले खेलेको भूमिकाको प्रशंसा गर्दै गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सिप र धनलाई मुलुकको हितका लागि उपयोग गर्न आह्वान गरिन् । उनले कोरोना महामारी, भूकम्पदेखि अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्ने गरेका कारण एनआरएनको भूमिका अझ बढेको बताइन् ।

नेपाल र चीन सरकारबीच विभिन्न नौ वटा समझदारी पत्रमा हस्ताक्षर नेपाल र चीन सरकारबीच विभिन्न नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज सिंहदरबारमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्काको उपस्थितिमा दुई देशका प्रतिनिधिबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल र चीनबीच नेपाल चीन अन्तरदेशिय रेल निर्माणको सम्भाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माणका बिषयमा समझदारी भएको छ । त्यस्तै नेपालमा चिनियाँ स्वाथ्यकर्मीको टोली सेवा प्रवाह गर्ने, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाललाई कोरोनाविरुद्धको आवश्यक खोप प्रदान गर्ने लगायतका विषयमा पनि समझदारी भएको छ ।

चिनियाँ विदेशमन्त्रीले गरे पोखरा विमानस्थल हस्तान्तरण चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरे । उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए । विमानस्थलको साँचो चिनियाँ विदेशमन्त्रीबाट परराष्ट्रमन्त्री खड्कालाई हस्तान्तरण लगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्नेछन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ ।

पार्टीलाई बलियो बनाउनका लागि निर्वाचनमा गठबन्धनको आवश्यकताः प्रधानमन्त्री देउवा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउनका लागि निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको बताएका छन् । आज काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै देउवाले पार्टीभित्र सबै नेताले जितोस् र पार्टीलाई बलियो बनाउनका लागि नै गठबन्धनको आवश्यकता रहेको बताए । अहिले पनि नेकपा एमाले बलियो नै रहेको र कांग्रेसले गठबन्धन नगरे एमाले र माओवादी मिल्ने सम्भावना रहेको देउवाले बताए ।

निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिवद्ध रहेको दोहोर्याएका छन् । आज ललितपुरमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने भन्दै निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिवद्ध रहेको बताए । उनले निर्वाचनको आवश्यक पूर्व तयारी गरिरहेको पनि जानकारी दिए । त्यस्तै उनले स्थानीयहरूलाई नै विकास निर्माणको जिम्मेवारी दिदा छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको भन्दै स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन आवश्यक रहेको उल्लेख गरे ।

बिमस्टेक सम्मेलनलाई प्रधानमन्त्रीले काठमाडौँबाटै सम्बोधन गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)को पाँचौ शिखर सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँबाटै सम्बोधन गर्ने भएका छन् । श्रीलंकको राजधानी कोलम्बोमा हुने बिमस्टेक शिखर सम्मेलनलाई प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । बिमस्टेकको पाँचौं शिखर सम्मेलन चैत १६ गतेदेखि सुरु हुँदैछ ।

अबको निर्वाचनमा कुनै पनि दलले एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने एमाले अध्यक्ष ओलीको दाबी नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले अबको निर्वाचनमा कुनै पनि दलले एमालेसंग प्रतिष्पर्धा गर्न नसक्ने बताएका छन् । आज काठमाडौँमा एमाले निकट मुस्लिम संगठन इतेहादको महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलहरूमात्र नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । अहिले एमालेसंग लडेर सकिदैन भनेर प्रधानमन्त्री देउवाले मात्र बुझेको तर्क गरे

गणतन्त्र विरोधीहरू जनताका अधिकार खोस्न उद्यत छन्: अध्यक्ष दाहाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र विरोधीहरू जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले यथास्थितिवादीहरू माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउनु पर्छ भनेर लागिपरेको आरोप लगाए । माओवादी जनयुद्ध र उन्नाइस दिनको जनआन्दोलनबाट प्राप्त उपलब्धि खोस्न सके माओवादीलाई सिध्याउन सकिन्छ भन्नेमा प्रतिगमनकारी र प्रतिक्रान्तिकारी लागेको उनको भनाइ थियो ।

आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्छ: अध्यक्ष नेपाल पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्ने बताएका छन् । गुल्मीमा आज एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन आफूहरू कलम चिह्न लिएर अघि बढेको उल्लेख गरे । गुल्मीको सन्दर्भमा उनले एमालेबाहेकका दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको जानकारी दिए ।

एमालेले आगामी निर्वाचनमा निकै ठूलो हार ब्यहोर्नुपर्छः नेता खनाल नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमालेले आगामी निर्वाचनमा निकै ठूलो हार व्यहोर्ने दाबी गरेका छन् । आज काठमाडौँमा समाजवादी प्रेस संगठन नेपालको बैठकलाई सम्बोधन गर्दै खनालले दुई तिहाई नभइ त्यसको उट्टो दुई–तीन सिट जित्ने दावी गरे । उनले केपी ओली नेतृत्वको एमाले गुटमात्र भइरहेको तर्क गरे । उनले हाल एमालेले गर्नसक्ने सम्भावित गठबन्धनका दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी भएकाले उक्त गठबन्धनलाई दक्षिणपन्थी मोर्चा उपनाम दिन सकिने उल्लेख गरे ।

हरियो रंगको मतपत्रबाट तर्सिनेहरू निर्वाचनको परिणामबाट पनि तर्सिन्छन्ः महामन्त्री शर्मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरियो रंगको मतपत्रबाट तर्सिनेहरू निर्वाचनको परिणामबाट पनि तर्सिने दावी गरेका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा शर्माले आफुलाई बलियो भन्ने नेकपा एमाले मतपत्रको रंगबाट तर्सिएको भन्दै अव निर्वाचनको परिणामबाट पनि तर्सिने अवस्था आउने दावी गरे । महामन्त्री शर्माले केपी ओली नेतृत्वको सरकारले गरेको बिकासलाई डायनासोर बिकासको संज्ञा दिए । ठूलो ठूलो बिकासको कुरा गरेर काम नगर्ने पार्टी एमाले भएको उनको भनाई छ ।

जसपा सांसदमाथि एमालले आक्रमण गरेको आरोप जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका प्रमुख सचेतक प्रमोद साहमाथि एमालेले सांघातिक आक्रमण गरेको आरोप लगाएको छ । आज बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकामा सडकको विषयलाई लिएर भएको झडपमा जसपाका प्रमुख सचेतक साहमाथि आक्रमण भएको थियो । उक्त आक्रमणमा साहको टाउकोमा चोट लागेर घाइत भएका छन् । जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही गर्न माग समेत गरेका छन् ।

बिक्री गर्न भारततर्फ लगिएको हात्तीसहित ३ जना पक्राउ पर्साबाट प्रहरीले भारततर्फ लैजाँदै गरेको दुई वटा हात्तीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन भरतपुर महानगरपालिका– १८ जीतपुर बस्ने ६० वर्षीय बुद्धिराम महतो, ४० वर्षीय राजु कुमाल र पर्साको पकहामैनपुर गाउँपालिका–५ सबैठवाका ३५ वर्षीय सफरोज आलम पक्राउ परेका हुन् । महतो र कुमाल माउते हुन् भने आलम हात्ती बिक्री गर्न लैजाने व्यक्ति भएको प्रहरीले जनाएको छ । नेपालबाट भारततर्फ हात्ती बिक्री गर्न लैजाँदै गरेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले उनीहरूलाई पकहामैनपुर गाउँपालिका–५ पोखरिया टोलबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा नेपालमा ८ जनामा कोरोना संक्रमण पुष्टि नेपालमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ६ सय ५५ कोरोना परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज २ सय १० जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ हजार ७ सय ५८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइँदै नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो । यही २५ चैतदेखि १८ बैशाखसम्म देशभर खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउने उमेर समूहका बालबालिकालाई नजिकको खोप केन्द्रमा जान मन्त्रालयले अनुरोध गरेको छ ।

वीरगन्जमा महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न २ जना पक्राउ वीरगन्ज महानगरपालिका–१३ श्रीपुर टोल बस्ने २८ वर्षीया महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र सोही ठाउँ बस्ने ५० वर्षीय हवारी साह रहेका छन् । उनीहरूलाई हिँजै पक्राउ गरिएको प्रहरीले जनाएको छ । माइतीघर बारा कलैया उपमहानगरपालिका–२३ कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका २ जनाले ती महिलालाई एसिड प्रहार गरेका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौँको छाउनीमा भूकम्प स्मृति पार्क निर्माण काठमाडौं क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत काठमाडौको छाउनीमा भूकम्प स्मृति पार्क निर्माण भएको छ । काठमाडौं महानगरपालिका वडा न.१५ स्थित छाउनीमा निर्माण गरिएको पार्क र २०७२ सालको भुकम्पमा परी मृत्यु हुनेहरूको सम्झनामा निर्माण भएको भूकम्प स्मृति स्तम्भको प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले उद्घाटन गरे । भूकम्पलगायतका प्रकृतिक प्रकोपको समयमा समुदायको लागि खुल्ला पार्कको आवश्यकतालाइ मनन गर्दै पार्क निर्माण गरिएको श्रेष्ठले बताए । उनले प्राकृतिक प्रकोपबाट बच्न खुल्ला स्थानको आवश्यकता रहेको पनि धारणा राखे ।

एउटै गाउँका ४९ कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग सप्तरीको राजगढ गाउँपालिकामा रहेका ४९ जना कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग देखिएको छ । गाउँपालिकाबाट टिबी स्क्रिनिङका लागि राजविराज गजेन्द्रनारायण सिंह अस्पताल आएका पाँच वर्षमुनिका ४९ जनामध्ये २९ जनामा कडा कुपोषण र २० जनामा क्षयरोग देखिएको अस्पतालले जनाएको छ । गाउँपालिकामा आसमा नेपाल र डब्लुएचएचको पोषण कार्यक्रमअन्तर्गत नमुना परियोजना कार्यक्रम दुई वर्षदेखि सञ्चालनमा छ ।

यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा ३८ घाइते, तीनको अवस्था गम्भीर पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारामा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । जसम्ध्ये ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । काँकडभिट्टाबाट काठमाडौँतर्फ आइरहेको यात्रुबहाक बस बिहान करिब ९ः२० बजेतरि अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उतामहोत्तरीको जलेश्वर–जनकपुर सडक खण्डस्थित चाँदनी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–२१ कुर्थाका ४५ वर्षीय उपेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

कपनमा आफ्नै श्रीमानले लगाए महिलामाथि आगो काठमाडौँको कपनमा श्रीमतीलाई आगो लगाएको आरोपमा एक पुरुष पक्राउ परेका छन् । सिरहाको लाहान नगरपालिका– ७ घर भई बुढानीलकण्ठ नगरपालिका–१० कपन आकाशेधारा बस्ने ३० वर्षकी अस्मिता चौधरीमाथि उनकै श्रीमान ४२ वर्षका प्रवीण चौधरीले तारपिनको तेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । राति सवा नौ बजे आफ्नै एक तले टिनले छाएको टहरामा चौधरीले श्रीमतीलाई आगो लगाएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।