Photo: bandwagon

अन्तर्राष्ट्रिय

रहेनन् टेलर हकिन्स

By खबरहब

March 26, 2022

एजेन्सी–  रक ब्याण्ड फू फाइटर्सका ड्रमर टेलर हकिन्सको ५० वर्षको उमेरमा निधन भएको छ ।

उनको मृत्युको कारणबारे नखुलाइएता पनि ब्याण्डले विज्ञप्ति जारी गर्दै दु:ख प्रकट गरेको छ ।

‘दु:खद र असामयामिक क्षति’ भएको ब्याण्डले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘उनको सांगीतिक आत्मा र हाँसो हामी माँझ सदैव रहिरहने छ’ उल्लेख गरिएको छ ।

साथै, यस कठिन घडीमा हकिन्सको परिवारको गोपनीयताको सम्मान गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।

फू फाइटर्सका संस्थापक र फ्रन्ट म्यान डेभ ग्रोहलपछि हकिन्स सम्भवतः समूहको सबैभन्दा प्रमुख सदस्य थिए । उनले फू फाइटर्सको भर्खरै रिलिज भएको डरलाग्दो कमेडी फिल्म ‘स्टुडियो 666′ मा पनि अभिनय गरेका छन् ।

सन् १९७२ मा फोर्ट वर्थ टेक्ससमा जन्मेका ओलिभर टेलर हकिन्स दक्षिणी क्यालिफोर्निया ब्याण्ड सिल्भियासँग पनि जोडिएका थिए ।

विलियम गोल्ड स्मिथले फू फाइटर्स छाडेपछि ग्रोहलको आग्रहमा टेलर ब्याण्डमा जोडिएका थिए । सन् १९९७ को मार्चमा ब्याण्ड फू फाइटर्सले टेलरलाई नयाँ ड्रमरको रुपमा घोषणा गरेको थियो । हकिन्सकी पत्नी एलिसन र तीन छोराछोरी छन् ।