देश/प्रदेश

स्थानीय तह निर्वाचन : ३५ हजार ३४ जनप्रतिनिधि चुनिए, कुन दलले कति जिते ? 

By खबरहब

May 26, 2022

काठमाडौँ – गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार अब १८७ जनप्रतिनिधिको परिणाम आउन बाँकी रहेको छ । आयोगले वैशाख ३० गते एकसाथ देशका सबै ७५३ स्थानीय तहमा निर्वाचन गरेको थियो । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पद गरी कुल ३५ हजार २२१ जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो ।

निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका पालिकामा सबैभन्दा बढी नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि क्रमशः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार बढी विजयी बनेका छन् ।

आयोगका अनुसार कांग्रेसका १३ हजार ७११, एमालेका ११ हजार ८४७, माओवादी केन्द्रका ५ हजार ४४, जसपाका १ हजार ५३९ र अन्य दल तथा स्वतन्त्रको तर्फबाट २ हजार ७९० जना उम्मेदवारले जितेका छन् ।