समाचार

एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान

By खबरहब

May 26, 2022

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको छ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्रदान गर्ने गर्छ । एनसेलको मुख्य कार्यालय एनसेल आइकन, लैनचौरमा आयोजित एक विशेष कार्यक्रममाझ पुल्चोक क्याम्पसमा अध्ययनरत विभिन्न पाँच संकायका उत्कृष्ट विद्यार्थीलाई बुधबार छात्रवृत्ति तथा सम्मान प्रदान गरेको हो ।

२०७१ सालबाट सुरु गरिएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक  शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने एनसेलले विश्वास लिएको छ । यस कार्यक्रम अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग  संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिन्छ ।

२०७८ का लागि १८ वटा शीर्षक अन्तर्गत १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उत्रिर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ट विद्यार्थीहरुबाट पनि एक–जना सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहको पढाइ सकाएका प्रत्येक संकायका १-१ जना र यी पाँचै संकायका छात्राहरु मध्यबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्रालाई उत्कृष्टता सम्मान दिने गरिन्छ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि रु १,००,००० राशीको रहेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा.शशीधर राम जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरुपमा विद्यार्थीहरुलाई सम्मान प्रदान गरे । त्यसैगरी, एनसेलका प्रमुख मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव, प्रमुख सूचना अधिकृत विशालमणि उपाध्याय, प्रमुख कानुन, संस्थागत सरकारी तथा नियामक मामिला अधिकृत रमेश घिमिरे र प्रमुख वित्तिय अधिकारी अनुपम भाटले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए ।

कोभिड–१९ महामारीका कारणले गर्दा गत वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको कार्यक्रम आयोजना गर्न नसकिएकाले २०७७ सालका विद्यार्थीहरुलाई पनि यस वर्ष छात्रवृत्ति र सम्मान प्रदान गरिएको थियो । इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा.जोशीले एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले युवा प्रतिभाहरुका ज्ञान अभिवृद्धि गर्न ठुलो भुमिका खेलेको भन्दै खुसी व्यक्त गरे ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङले भने, ‘‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम आफुहरुको सामाजिक पहलहरु मध्ये निकै प्रशंसा गरिएको एक कार्यक्रम रहेको उल्लेख गरे । साथै यसलाई निरन्तर उच्च प्राथकितामा राख्ने प्रतिवद्धता जनाए ।