मनोरञ्जन

राठीले भने,  ‘दर्शककै कारण विदेशी फिल्म आउने नआउने तय हुन्छ’  

By खबरहब

May 26, 2022

काठमाडौँ– नयाँ वर्षको दिन रिलिज भएको ‘ए मेरो हजुर ४’ टिमले नेपाली प्रदर्शकले स्वदेशी फिल्मलाई नभई विदेशी फिल्मलाई प्राथमिकता दिने गरेको आरोप लगाए । प्रदर्शकले आफ्नै स्वदेशी फिल्मलाई पाखा लगाएको आरोपले फिल्मनगरीमा राम्रै बहस भयो । विदेशी फिल्मलाई प्रशय दिएको आरोप निरज पौडेलको ‘ए एट फिल्म्स’ लाई लाग्यो । किनकी नेपाली फिल्मको लागि राम्रो मानिने डेट वैशाख १ मा भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’ रिलिज भयो । यसको प्रत्यक्ष असर नेपाली फिल्मलाई पर्‍यो । प्रदर्शकले स्क्रिन र शो कम दिए । 

निरज पौडेलको वितरण समुहका एक सदस्य मनोज राठीले हालै एक कार्यक्रममा आफूले नेपाल सरकारको कानुन अनुसार हिन्दी फिल्म प्रदर्शन गरेको बताए । ‘हामीले दर्शकको डिमाण्ड अनुसार फिल्म ल्याएर प्रदर्शन गरेका हौँ । यसमा आरोप लगाउनु पर्ने कुनै कारण छैन । फिल्मप्रति दर्शकको आकर्षण भए फिल्म चलाउनु पर्दैन? ‘उनले भने । उनले यो साता कुनै विदेशी फिल्म रिलिज नभइरहेको समेत सुनाए । 

‘कबड्डीप्रति दर्शकको बढ्दो आकर्षण देखेर मैले हिन्दी फिल्म ल्याउने आट गरिन् । शायद, अन्य वितरकले पनि गर्नु भएको छैन । कसैले पनि घाटाको व्यापार गर्दैन’ वितरक राठीले भने । उनले दर्शकको अपेक्षा अनुसार नै फिल्म नेपाल भित्रिने बताए । यो साता आयुष्मान खुराना अभिनीत फिल्म ‘अनेक’ नेपाल नआउने लगभग पक्का छ ।

वितरक राठीलाई केही फिल्मकर्मीहरू हिन्दी फिल्मलाई प्रशय दिएर नेपाली फिल्मलाई पाखा लगाउन लागिपरेको आरोप लगाउदै ‘दलाल’ भन्ने शब्द पनि प्रयोग गरेका थिए ।