तस्वीर- ट्वटिर/कुलिसेनार

अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकाको नाइट क्लबमा २२ जनाको शव फेला

By खबरहब

June 26, 2022

काठमाडौँ- दक्षिण अफ्रिकाको दक्षिणी शहर इस्ट लन्डनको नाइट क्लबमा २२ जनाको शव फेला परेको छ । यसअघि सरकारी अधिकारीले इस्ट लण्डनको एन्योबेनी टाभेर्नमा आइतबार एकाबिहानै १७ जनाको शव फेला परेको जनाएका थिए ।

पछि मृतकको संख्या २२ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हो । घटनामा अरु केही मानिसहरु घाइते भएको देखिएको जनाइएको छ ।

‘घटनाको अवस्थाबारे अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता ब्रिगेडियर टेम्बिन्कोसी किनानाले दक्षिण अफ्रिकाको न्युजरुम अफ्रिका टेलिभिजन च्यानललाई जानकारी दिए । घटनाबारे अहिले नै निष्कर्षमा पुग्न नहुने उनले बताएको बीबीसीले जनाएको छ ।

पीडितका आफन्तहरुले आफूहरुलाई सुरक्षा अधिकारीहरुले मृतकको शव हेर्न समेत नदिएको आरोप लगाएका छन् ।

दक्षिण अफ्रिकाको इस्टर्न केप प्रहरी आयुक्त नोम्थेथेलेली लिलियानले दक्षिण अफ्रिकाको प्रसारण संस्था एसएबीसीलाई बताएअनुसार नाइटक्लबभित्र संदिग्ध भागदौड’ मच्चिँदा घटना भएको देखिएको छ ।

घटनामा मारिएका अधिकांशको उमेर १८ देखि २० वर्ष रहेको छ ।