अन्तर्राष्ट्रिय

ऋणमा चुर्लुम्म डुबेको चिनियाँ घरजग्गा कम्पनीको कथा

By हिमाल कोइराला

July 26, 2022

काठमाडौँ – संसारमा धेरै फस्टाएको व्यापार हो, रियल स्टेट । नेपालीमा भन्दा घरजग्गा कारोबार । तर, रुस–युक्रेन युद्धमात्रै होइन, धेरै जोखिम मोल्ने बानी परेका घरजग्गा कम्पनीको हालत पछिल्लो समय नाजुक बनेको छ । जसको ज्वलन्त उदाहरण बनेको छ, चिनियाँ कम्पनी एभरग्राण्ड ।

एभरग्राण्ड विश्वमै ठूलो घरजग्गा कारोबार गर्ने कम्पनी हो । तर यसको ठूलो कारोबारको खराब कीर्तिमान बनेको छ । जुन ऋण हो । पछिल्लो समय घरजग्गा कारोबार गर्ने एभरग्राण्ड कम्पनी ऋणमा चुर्लुम्म डुबेको छ । यसका पछाडि चीनमा घरजग्गा कारोबार नै निरन्तर ओरालोमा छ ।

विश्वभर आर्थिक संकट आउन सक्ने चिन्ता बढिरहेका बेला ऋणमा चुर्लुम्म डुबेको चिनियाँ घरजग्गा कम्पनी एभरग्राण्डका प्रमुख कार्यकारी र वित्तीय प्रमुखले पदबाट राजीनामा समेत दिइसकेका छन् ।

ऋणमा डुबेको एभरग्राण्ड कम्पनीका प्रमुख कार्यकारी सिया हाइजुन र प्रमुख वित्तीय अधिकारी पेङ डारोङले पदबाट राजीनामा दिएका हुन् । आन्तरिक रुपमा गरिएको अनुसन्धानबाट उनीहरुले २ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति हिनामिना गरेको पाइएपछि उनीहरुले राजीनामा दिएका हुन् ।

कम्पनीको आन्तरिक छानबिनबाट उनीहरुले कम्पनीको सम्पत्ति सेवा क्षेत्रको ऋणबाट १३ अर्ब ४० करोड चिनियाँ युआन अर्थात् २ अर्ब अमेरिकी डलर अपचलन गरेको पाइएको हो ।

कम्पनीले विज्ञप्ति जारी गर्दै छानबिनबाट उनीहरुले ‘तेस्रो पक्षलाई पैसा दिएर उक्त पैसा पुनः कम्पनीमै फिर्ता ल्याएको र उक्त पैसा कम्पनीको सामान्य गतिविधिमा खर्च गरिएको’ जनाएको छ ।

कम्पनीले यस विषयमा पैसा पुनः भुक्तानी गर्नका लागि सम्पत्ति सेवा एकाईसँग छलफल भइरहेको जानकारी दिएको छ ।

विश्वमै सबैभन्दा धेरै ऋणमा डुबेको कम्पनी विश्वमै सबैभन्दा धेरै ऋणमा डुबेको यो घरजग्गा कम्पनीको वित्तीय दायित्व ३ खर्ब डलर बराबर रहेको छ । गत वर्षको अन्त्यतिर यो कम्पनीले आफूले ऋण तिर्न नसक्ने बताएको थियो ।

हङकङको धितोपत्र बजारमा गत वर्षयता यो कम्पनीको शेयर मूल्यमा ७५ प्रतिशतको गिरावट आएको छ । वित्तीय दायित्व भुक्तानी पुनसंरचनाका लागि यो कम्पनीले अर्को साताभित्र नयाँ योजनाको घोषणा गर्ने अपेक्षा गरिएको छ ।

चीनको घरजग्गा क्षेत्रमा देखिएको संकटका कारण गत वर्षयता १० खर्ब अमेरिकी डलरभन्दा धेरैको नोक्सानी भएको बीबीसीले उल्लेख गरेको छ ।

चीनको घरजग्गा क्षेत्रमा देखिएको संकटले विश्वभर आर्थिक संकट निम्तिनसक्ने चिन्ता उत्पन्न भएको छ । जापानको नोमुरा बैंकले सोमबार जनाएअनुसार एभरग्राण्ड संकटयता अरु केही चिनियाँ घरजग्गा कम्पनीहरु पनि ऋण तिर्न र नयाँ पूर्वाधार निर्माण गर्न असफल देखिएका छन् ।

बीबीसीका अनुसार सोमबारमात्रै एभरग्राण्डसहित दर्जनभन्दा धेरै घरजग्गा कम्पनीहरुलाई सहयोग गर्न चीनले ‘घरजग्गा कोष’ को सुरुआत गर्न लागेको समाचार सार्वजनिक भएको छ । यो कोषमा ३ खर्ब युआनभन्दा धेरै रकम रहने अनुमान गरिएको छ ।

चीनमा घरजग्गा कारोबार निरन्तर ओरालो सरकारी तथ्यांकअनुसार चीनमा घरजग्गा कारोबार ११ महिनायता निरन्तर लगातार ओरालो लागिरहेको छ । ९० को दशको अन्त्यतिर चीनले निजी घरजग्गा बजारको सुरुवात गरेयता यो यस क्षेत्रमा सबैभन्दा खराब अवस्था हो ।

तीव्र प्रतिस्पर्धाका कारण चीनमा निर्माणको चरणमै घर खरिद गर्ने र निश्चित समयसम्म किस्ता तिर्ने चलन रहेको छ । कतिपय कम्पनीहरुले निर्माण अगावै खरिदकर्तासँग पैसा लिएका घरको निर्माणकार्य पनि बन्द गर्दै जान थालेका छन् ।

केही सातायतामात्रै केही घर खरिद गर्न चाहनेले घरको बाँकी किस्ता नतिर्ने धम्की समेत दिन थालेको बीबीसीले उल्लेख गरेको छ । चीनको इ–हाउस चाइना रिसर्च एण्ड डेभलोपमेन्टका अनुसार यसबाट त्यहाँ ८० कम्पनीका २०० भन्दा धेरै घर निर्माण परियोजनाहरु प्रभावित भएका छन् ।

चीनको बैंकिङ एवम् बीमा नियामक आयोगले घर हस्तान्तरणको प्रत्याभूति दिनका लागि स्थानीय निकायहरुसँग सहकार्य गरिरहेको जनाएको छ ।