अन्तर्वार्ता

विपदमा परेकालाई जोगाउन उद्धार एम्बुलेन्स ल्यायौँ

By चन्द्रकान्त न्यौपाने

July 26, 2022

काठमाडौँ- मनसुन सुरु भइसकेको छ । नेपालमा करिब तीन महिना मनसुनजन्य विपद्का घटनाहरू धेरै हुने गरेका छन् । नेपालमा हरेक वर्ष बाढी पहिरोका कारण ठुलो मात्रामा धन जनको क्षति भइरहेको तथ्यांक गृह मन्त्रालयले दिँदै आएको छ । यो क्षतिलाई केही हदसम्म कम गर्न गृह मन्त्रालयले विपद् सामूहिक उद्धार एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एउटै गाडीमा सबै सेवा र सुविधा पाउन सक्ने गरेर ७ वटै प्रदेशमा सशस्त्र प्रहरीको माध्यमबाट परिचालन गर्न राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सामुहिक एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । यसैसम्बन्धी प्राधिकरणका प्रवक्ता तथा सुचना अधिकारी डाक्टर डिजन भट्टराईसँग खबरहबका लागि चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

यो सामूहिक उद्धार एम्बुलेन्स कस्तो छ ? यसको विशेषता कस्ता छन् त ? हामीले देख्दै आएको एम्बुलेन्सहरु भन्दा यो अलिक ठुलो आकारको छ । भेन्टिलेटर अल्ट्रासाउन्ड लगायतका सामग्रीहरू जोडिएका छन् । आपत्कालीन अवस्थामा चाहिने हरेक उपकरण जडान गरीएको छ । टाढा भएका डाक्टरहरूले पनि गाइड गर्न सक्ने गरी सिसिटिभी जडान गरीएको छ । विपद्बाट धेरै जना समस्यामा परे भने एकै चोटि उद्धार गर्न सकियोस् भनेर यो एम्बुलेन्स नेपालमा ल्याइएको छ ।

यसको प्रयोग कसरी हुँदैछ त ? यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरामा नै हाम्रो विशेष ध्यान गएको छ । जनशक्तिको पनि व्यवस्थापन गर्ने उद्देश्यले यसलाई सही रूपले उद्धार गर्ने भनेर सशस्त्र प्रहरीको माध्यमबाट परिचालन गर्ने भनेर यो ल्यायौँ । प्रत्येक प्रदेशमा एउटा एउटा रहने र काठमाडौँमा एउटा रहने गरी ८ वटा ल्याएका छौँ । यसलाई कसरी सञ्चालन गर्ने ड्राइभर कस्तो राख्ने यसको सही रूपमा कसरी परिचालन गर्ने भनेर हामी र सशस्त्र प्रहरीको बल बसेर सल्लाह गर्ने बाँकी नै छ । यसको सम्पूर्ण व्यवस्थाको जिम्मा सशस्त्र प्रहरीका बलले लिएको छ ।

वर्षेनी विपद्को घटनाले धेरै ठूलो जन धनको क्षति गरेको छ । त्यसको न्यूनीकरण गर्ने यो कतिको प्रभावकारी बन्ला त ? दुर्गम ठाउँमा यो लैजान कत्तिको सहज छ ? धेरै असहजता छ । त्यसैले दुर्गम ठाउँमा लैजान त यो सकिँदैन । अन्य कुनै माध्यमबाट एउटा होल्डिङ सेन्टरसम्म बिरामी ल्याउने काम साना गाडीहरूले ल्याउनु हुन्छ । त्यो होल्डिङ सेन्टरको रूपमा यो एम्बुलेन्स गएर बस्ने हो ।

मान्छे विपद्मा पर्‍यो भने बाटोमै मृत्यु हुने कारणलाई रोक्नको लागि यो ल्याइएको हो ? यो एक प्रकारको अस्पताल नै हो । टाढाबाट विपद्मा परेका मानिसहरू ल्याउँदा यसमा बिरामीलाई पनि सहज हुने र समयमा समस्या रोक्ने उद्देश्यले यो ल्याइएको हो । प्राथमिक उपचार यो एम्बुलेन्सभित्र नै हुन्छ । यसले मान्छेको दुर्घटनाबाट घटनास्थलमा मृत्यु हुनबाट रोक्न यसले महत्त्वपूर्ण भूमिका खेल्छ ।

प्राथमिक उपचार त्यहीँबाट गरेर फर्काउनु हुन्छ कि अस्पताल पुर्‍याउनै पर्छ ? यसमा भेन्टिलेटर अल्ट्रासाउन्ड लगायतका उपकरणहरू जडान गरिएका छन् । त्यहाँको अवस्था हेरेर गर्नुपर्छ । साधारण यसमा गरेको उपचारले नै त बिरामीलाई निको नहोला तर उपचार गर्दै अस्पतालसम्म पुर्‍याउनका लागि यो ल्याइएको हो  ।

सामूहिक उद्धार एम्बुलेन्स सञ्चालन गर्न कार्यविधि बनिसक्यो वा अरू कुन प्रावधानबाट यसको सञ्चालन हुन्छ ? एम्बुलेन्स आइसकेको छ । यसको कार्यविधि तयार गर्न लामो समय लाग्यो । अब चाँडै नै यसको टुंगो लाग्छ । यसको लागि राज्यले प्राथमिकता दिने धेरै कुराहरू छन् । यसको सञ्चालन गर्न पनि राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष वर्षेनी भएका विपद्हरू कसरी न्यूनीकरण गर्ने त भनेर राष्ट्रिय निकाय देखि लिएर अर्थ मन्त्रालय गृह मन्त्रालय सबैसँग छलफल गरेर गत वर्षको योजनामा पर्न सफल भयौँ । अनि यो खरिद प्रक्रिया अगाडि बढाऔँ  ।

स्थानीय सरकारले पनि यो विपद्को समयमा ठुलो भूमिका खेलेका छन्, उहाँहरूले पनि त्यसलाई सदुपयोग गर्न सक्नुहुन्छ त ? स्थानीय सरकारलाई त संविधानले पनि विपद् व्यवस्थापनको एकल अधिकार दिएको सरकार हो । त्यस कारणले उहाँहरूको ठुलो भूमिका छ । जुन आठ वटा एम्बुलेन्स ल्याएका छौँ यो त एउटा पहिलो प्रारम्भ मात्र हो । अझै धेरै बाटोहरू योजनाहरूमा जान बाँकी नै छ । सेकसम्ममा त हामीले हरेक पालिकामा राख्न सक्नु पर्दछ । त्यसैले गर्नुपर्ने कामहरू धेरै छन् । त्यसका लागि पालिकाहरूले पनि साथ लिनु पर्दछ ।

यो मनसुन सुरु भएर विपद्को घटनाहरूलाई रोक्नको लागि कसले–कस्तो भूमिका खेल्यो भने यो रोक्न सक्छौँ ? हामीले जनतालाई विभिन्न माध्ममहरुबाट जानकारी दिएका छौँ । धनजनको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ, यसका लागि महत्त्वपूर्ण कुरा भनेको हाम्रो क्रियाशीलता हो । सरकारको क्रियाशीलता जति बढ्छ, त्यति नै यो नियन्त्रण हुन्छ । माथिल्लो तह प्रधानमन्त्रीदेखि लिएर सम्पूर्ण निकायहरूसँग संस्थागत संरचना निर्माण गरेका छौँ । आफ्ना ठाउँमा यो योजनाहरू प्रभावकारी बन्दै गएका छन् । हामीले विपद् पूर्व तयारीका पूर्व योजनाहरू बनाएका छौँ । प्रतिकार योजनाहरू बनाएका छौँ ।

यस वर्षको विपद् प्रतिकार योजनामा कुन ठाउँमा कतिको पानी पर्दछ ? त्यसमा कुन कुन निकायको के जिम्मेवारी हो ? भनेर योजना बनाएका छौँ । सञ्चार निकाय, सिँचाइ निकाय, विद्युत् प्राधिकरण एनजीओहरु यी सबैले काम गर्ने भनेर योजना बनाएका छौँ। ७७ वटै जिल्लाका सम्बन्धित व्यक्तिहरूको फोन नम्बर लिएका छौँ । ७ वटै प्रदेशका प्रदेश आपत्कालीन केन्द्र, राष्ट्रिय आपत्कालीन केन्द्रका फोन नम्बर उपलब्ध गराएका छौँ । जोखिमसँग डराउने भन्दा पनि रमाउने पद्धति छ, त्यसलाई रोक्न प्रयास गरेका छौँ।

आम नागरिकले गर्नै पर्ने काम चाहिँ के हो त ? विपद्बाट बच्न गर्नुपर्ने काम के हो ? पहिलो कुरा त हामी कस्तो ठाउँमा बसेका छौ भनेर हेर्नुपर्छ । जोखिम हुने ठाउँमा छौँ भने पानी परेका रात घरमा सबै जना एकैचोटी नसुत्ने, सुरक्षित ठाउँमा जाने, यदि जाने ठाउँ छैन भने सम्बन्धित निकायहरू वडाध्यक्षसामु प्रस्ताव राख्ने सबै जना मिलेर यो समस्यालाई हल गर्न सकिन्छ । विपद्मा सबैभन्दा पहिला नागरिक आफैँ सचेत हुनुपर्छ ।

विपद्मा परेका नागरिकले सोझै गृह मन्त्रालय वा तपाईंहरुको निकायमा कसरी सम्पर्क गर्ने ? जल तथा मौसम विभागमा ११५५ मा फोन गरेर जानकारी पाउन सकिन्छ । अत्यन्त जोखिममा पर्नु भयो भने ११४९ राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रमा फोन गर्न सक्नु हुन्छ । नेपाल प्रहरीको १०० मा पनि फोन गरेर विपद्बाट बच्न आवश्यक पूर्व तयारी र सचेत हुन सकिन्छ ।

यस वर्षको विपद्को पूर्वानुमान कस्तो छ ? जल तथा मौसम विभागले यो वर्ष पानी कत्तिको पर्दछ भनेर पूर्वानुमान गरेको छ । त्यसको अधारमा हामीले जोखिमयुक्त ठाउँहरू कस्ता छन् ? कहाँ छ भनेर सुरक्षित स्थान तर्फ जान पूर्व जानकारी दिन्छौँ । (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)