फाइल तस्वीर

देश/प्रदेश

ङादी खोलामा १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत् आयोजना निर्माण हुने

By खबरहब

August 26, 2022

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिकाको ङादी खोलामा हव पावर प्रालिले १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

पानीलाई १८३६.५० मिटर लामो हेडरेस सुरुङ र ४१९ मिटर लामो पेनस्टक पाइपमार्फत् सतही विद्युतगृहमा पुर्‍याइनेछ ।  आयोजनाको अध्ययन पूरा भएकोले उत्पादन अनुमति पत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

यही क्रममा विद्युत् विकास विभागले कम्पनीलाई उत्पादन अनुमति पत्र दिने तयारी गरिरहेको छ । विभागले अनुमति पत्र जारी गर्नुअघि सूचना प्रकाशन गरेर आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ ।

सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह  गरेको छ । आयोजनाको मुख्य सूचनाहरू खोलाको बायाँ किनारमा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ ।

आयोजनाबाट निर्माण सुरु गरेको ३ वर्षमा उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीको छ । आयोजना पूरा भएपछि वार्षिक ७७.६६८ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् १३२ केभी लाइनमार्फत ४ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको टारीकुना सबस्टेसनमा जोडिनेछ ।