ब्रेकिङ स्टोरी

बालेनको बल प्रयोगले खुल्यो राहदानी विभागको पार्किङ

By खबरहब

August 26, 2022

काठमाडौँ- राहदानी विभागले आउँदो आइतबारदेखि बेसमेन्ट सेवाग्राहीका लागि पार्किङ स्थलको रूपमा प्रयोग हुने जानकारी दिएको छ । मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वको महानगरको टोलीले शुक्रबार दिउँसो विभागको बेसमेन्टमा रहेका कुर्सीसहितका सामग्री हटाएको थियो ।

अवैध रूपमा बनेका संरचना र अनुमति विपरीत उपयोग गरिएका स्थानमा निगरानी बढाएको महानगरले विभागले  पार्किङका लागि अनुमति लिएको बेसमेन्टमा कुर्सीसहितका समान राखेपछि हटाएको थियो ।

महानगरको सो कार्यपछि विभागले विज्ञप्ति जारी गरेर आइतबारदेखि बेसमेन्ट सेवाग्राहीका लागि पार्किङको रूपमा प्रयोग गरिने जानकारी दिएको हो ।

विभागले आइतबारदेखि नै लाइभ इनरोलमेन्ट सेन्टर राहदानी विभाग कायम भएका सेवाग्राही मात्र राहदानी आवेदनका लागि यस विभागमा आइदिन, आवेदकहरू आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र आइदिन, तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साबिकमा झैँ गेट नं. २ बाट प्रवेश गरिदिन, राहदानीसम्बन्धी सेवा लिनका लागि विभाग आउँदा आवश्यक अवस्थामा बाहेक सम्बन्धित आवेदक मात्र आइदिन र राहदानी विभाग बाहिरको सडकमा अनावश्यक भिडभाड नगरिदिन विभागले आग्रह गरेको छ ।