काठमाडौँ– सत्ता गठबन्धन कार्यदलको बैठकमा प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटको विषयमा छलफल सुरु भएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा प्रदेशतर्फ पनि बाँडफाँट कसरी गर्ने भन्नेबारे छलफल सुरु भएको सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । तर, ठोस सहमति नबनेको भन्दै उनले यसबारे छलफलका लागि आइतबार पुनः बैठक बोलाइएको बताए ।
यसअघिका कार्यदलका बैठकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको बाँडफाँटबारे मात्रै छलफल हुने गरेकामा शुक्रबारदेखि प्रदेशतर्फ पनि छलफल सुरु भएको हो । अहिले दलहरूबाट आफ्नो हिसावले दाबी प्रस्तुत गर्नु स्वाभाविक भएको प्रतिक्रिया दिँदा यसलाई रियालिस्टिक गा्रउण्डमा राखेर छलफल गरेर टुंगोमा पुगिने कार्कीले बताए ।
‘नेतृत्वले कार्यदललाई सुम्पेको जिम्मेवारी अनुसार संघको बारेमा छलफल हुँदा आएकामा आज प्रदेशमा प्रवेश गरिएको छ ’, उनले भने, ‘समग्रमा भन्नुपर्दो जिम्मेवारी बहन गर्ने नजिक–नजिक पुगेका छौँ । आइतबार ४ बजे बैठक फेरि बसेर सिट बाँडफाँटबारे निष्कर्षमा पुग्छौँ ।’
प्रतिनिधिसभा र प्रदेशसभामा भागबण्डा गर्दा सकेसम्म फरक दलबाट प्रतिनिधित्व हुनेगरी व्यवस्था मिलाइने उनको भनाइ छ ।
प्रतिनिधिसभातर्फ काँग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ तथा जनमोर्चाले २ सिट दाबी गरेको छ । तर, प्रदेशसभामा भने छलफल सुरु भएकाले दाबीबारे सञ्चारमन्त्रीले प्रष्ट खुलाएका छैनन् ।