देश/प्रदेश

सवारी दुर्घटनामा घाइते एकको मृत्यु

By खबरहब

September 26, 2022

सुर्खेत– मोटरसाइकल दुर्घटनामा घाइते रामप्रसाद थारूको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहान चार बजे प्रदेश अस्पताल काला गाउँमा उपचारको क्रममा थारूको मृत्यु भएको हो ।

आइतबार साँझ थारूले चलाएको कर्णाली प्रदेश ०२-००१ प ०९९० नं को मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको भे-६-प-३८९० नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता सुरज कार्कीले बताए । उनका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ धुलयाबिट नजिक दुर्घटना भएको हो । 

थारू भेरीगङ्गाको छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेका थिए । थारूले चलाएको मोटरसाइकलमा पछाडि बस्ने गीता चौधरी पनि घाइते भएका थिए । उनको शरीरका विभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ । यस्तै, भे-६-प- ३८९० नं को मोटरसाइकल चालक गणेश खड्का पनि घाइते  भएका छन् । उनको पनि हातखुट्टा र शरीरमा चोट लागेको छ । दुवै जनाको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको प्रहरीको भनाइ  छ ।