लमजुङ– समुद्री सतहदेखि करिब तीन हजार सात सय मिटर उचाइमा रहेको मनाङमा यतिबेला फापर खेतीले सबैको मन तानेको छ ।
तल्लो क्षेत्रको नासों- १, ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ- ९, खाङसारसम्म फापरखेती फैलिएको देख्न सकिन्छ । स्थानीयले प्रायस जेठ अन्तिम साता र असारमा बीउ छर्ने गर्छन् भने भदौ महिनाभर फूल रहन्छ । त्यसपछि दाना लागेर असोज अन्तिम साता र कात्तिकमा काटेर थन्क्याउने गरिन्छ ।
मनाङको मनाङ ङिस्याङ, चामे, नासों गाउँपालिका साथै नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्र नार र फू बस्तीबाहेक तल्लो क्षेत्रमा फापरखेती राम्रो हुने स्थानीय विनोद गुरुङले बताए । निस्याङ भ्यालीले चिनिएको माथिल्लो मनाङमा यसको खेती बढी हुने गरेको छ ।
अन्नपूर्ण पदमार्ग भएकाले यहाँका धेरैजनाले होटेल सञ्चालन गर्दै आएका छन् । पर्यटकले फापरको परिकार मात्रै नभएर फापरखेतीलाई पनि मन पराउने गरेका छन् । तराईमा तीतेफापर र हिमालमा मिथेफापरको खेती हुने गर्छ । मनाङको लोभलाग्दो फापरखेती हेर्न आन्तरिक र बाह्य पर्यटकहरू आउने गर्छन् ।