देश/प्रदेश

घरेलु र लैङ्गिक हिंसाबारे सचेतना जगाउन जाजरकोटका घरघरमा प्रहरी

By खबरहब

September 26, 2022

काठमाडौँ- जाजरकोट जिल्ला भेरी नगरपालिका –३ नयाँ बस्तीमा दुई जना प्रहरी एकाबिहानै घरमा को हुनुहुन्छ भन्दै स्थानीय गोविन्द डाँगीको घरमा पुग्दा सबै अचम्मित भए । प्रहरीले तपाईँहरुका समस्या के छन् भन्दै सबै परिवारका सदस्यालाई पालैपाले प्रश्न गर्दा डाँगी परिवार अनौठौ मान्दै सबै समस्य प्रहरीलाई सुनाउँछन् ।

प्रहरीहरु घरेलु, लैङ्गिक हिंसा भएमा कहाँ र कसरी उजुरी दिने र कस्ता खालका समस्यालाई हिंसा भनिन्छ भन्ने कुरा उल्लेख गरिएको पत्र दिँदै तपाईँको परिवारमा भएको समस्या जानकारी गराउनुभएकोमा धन्यवाद भन्दै त्यहाँबाट बाहिरिन्छन् ।

त्यस्तै, नलगाड नगरपालिका –७ स्थित नवीन सिंहको घरमा दिउँसो पानीको झरीसँगै पुगेको प्रहरीले घरेलु, लैङ्गिक हिंसा सम्बन्धी जानकारी लेखेको पत्र दिएर सबै पढन आग्रह गर्छन । नवीनको परिवारको फोन नम्बर रजिस्टरमा टिप्दै परिवारमा भएको समस्या लिखित संकलन गरी केही समस्या भएमा जानकारी गराउन आग्रह समेत गर्दछन् ।

जिल्लाका सातवटा पालिकाका सबै घरमा पुगेर प्रहरीले फोन नम्बर, परिवार संख्या र घरमा भएको समस्याका विषयमा समेत सोधेर लिखित जानकारी हप्ता दिनदेखि लिन सुरु गरेको छ । प्रहरीले तत्काल केही समस्य नभएपनि पछि भैपरी आउने समस्याहरु समेत जानकारी गराउनका लागि फोन नम्बर छोड्दै फोन गर्न आग्रह गर्दै आएको छ । घरघरमा हुने घरेलु, लैङ्गिक हिंसाका विषयमा सचेतना जगाउँदै प्रहरीले समस्याको वर्गीकरण समेत गर्न थालेको जाजरकोट प्रहरी प्रमुख (डिएसपी) सन्तोष निरौलाले जानकारी दिए ।

चुनावको समयमा समेत सबै घरमा नेता नपुग्ने अवस्थामा प्रहरीको उपस्थिती सबै घरमा हुँदा जनताले प्रहरी नै भरपर्दो सहयोगी भएको महसुस गर्न थालेका छन् । जनयुद्धको समयमा प्रहरी, प्रशासन भन्नेबित्तिकै सर्वसाधारणको बुझाइ फरक हुने गर्दथ्यो । शान्तिकालमा आएसँगै केही परिवर्तन भएपनि आफूसँग भएको समस्यका विषयमा प्रहरी चौकीमा नै जानुपर्छ भन्ने बुझाइका कारण खास समस्या प्रहरी सामु पुग्न नसकेकोले घर घरमा पुगेर प्रहरीले गुनासो लिखित रुपमा टिपेर लिएपछि राज्य भएको महसुस भएको नलगाड नगरपालिका –८ का हरिबहादुर खत्रीले जानकारी दिए ।

प्रहरीले सबै गुनासो ,फोन नम्बर र समस्या टिपेपछि त्यसको वर्गीकरण गरेर पालिका, वडा र प्रहरीमध्ये कसको भागमा उक्त समस्या पर्छ, उसैले समाधान खोज्नका लागि पहल सुरु गरिएको डिएसपी निरौलाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाहेक अन्य प्रहरी चौकीमा स्थायी फोन नम्बर नभएकोले सबै युनिटमा स्थायी फोन नम्बर समेत उपलब्ध गराएको उनले जानकारी दिए । पालिकाको सहयोगमा उक्त काम गरिएको प्रहरीको भनाइ छ । एक हप्ता अघि जिल्लाका सबै पालिका प्रमुख र सरोकारवाला निकायको सहभागितामा जिल्लाका सबै ठाउँमा घरेलु, लैङ्गिक हिंसाका विषयमा जानकारी लिनका लागि कामको सुरुवात गरिएको थियो ।

अधिकांश समस्याहरुमा सरोकारवाला निकायको पहुँच नहुनु र सामाजिक बन्धनका कारण सबै कुरा खुल्न नसक्ने भएकाले यो अभियान सञ्चालन गर्नुपरेको नलगाड नगरपालिकाका पुर्व नगरप्रमुख टेकबहादुर रावलले बताए । ७७ जिल्ला मध्य जाजरकोटमा पहिलो पटक यो अभियान सञ्चालन गरिएको छ ।

समस्यालाई नजिकबाट बुझन र समाधान निकाल्नका लागि यो अभियान सञ्चालन गरिएको हो । पहुँचवालाले मात्र सबै काम गर्न र न्याय पाउँछन् भन्ने बुझाइलाई गलत साबित गर्न यो अभियानले थप टेवा पुग्ने अपेक्षा गरिएको छ । जिल्लाभरीका सर्वसाधारणहरुको अवस्था, पीडा र गुनासोहरु एकै पटक केन्द्रित गरेर समाधानका उपाय र विधि समेत खोजि गरिने सरोकारवालाको भनाइ छ ।