तस्वीर- भाइरलप्रेस

अन्तर्राष्ट्रिय

इण्डोनेशियामा अजिङ्गरले सिङ्गै निलेको महिलाको शव फेला

By खबरहब

October 26, 2022

काठमाडौँ- इण्डोनेशियामा अजिङ्गरले निलेको अवस्थामा एक जना महिलाको सिङ्गो शव फेला परेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अजिङ्गरले सिङ्गै निलेको अवस्थामा ५० वर्षे जाहरा नामक महिलाको शव फेला परेको हो । रबर किसान रहेकी उनी काम गर्न गएको लामो समयसम्म नफर्केपछि खोजी कार्य थालिएको थियो ।

पछि गाउँलेहरुले ठूलो पेट भएको अजिङ्गर फेला पारेका थिए । बीबीसीका अनुसार स्थानीयहरुले १६ फिट लामो अजिङ्गर मारेर पेटबाट ती महिलाको सिङ्गो शव निकालेका थिए ।

इण्डोनेशियामा अजिङ्गरले मानिसलाई खाएका घटनाहरु बेलाबेला सार्वजनिक हुने गरेका छन् । यसअघि सन् २०१८ र सन् २०१७ मा पनि यस्तै घटनाहरु सार्वजनिक भएका थिए ।

अजिङ्गरले आफ्नो आहारा सिङ्गै निल्ने गरेका छन् । वन्यजन्तु विज्ञहरुका अनुसार अजिङ्गरले प्रायः मुसा लगायतका जनावरलाई आहारा बनाउँछन् ।

यद्यपि निश्चित आकारमा पुगेपछि भने अजिङ्गरले गाइवस्तु, बङ्गुर र दुर्लभ अवस्थामा मान्छेसमेत खाने गरेका छन् ।