तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

आणविक परीक्षण गरे उत्तर कोरियाले ‘असमानान्तर’ प्रतिक्रिया भोग्ने अमेरिका, जापान र दक्षिण कोरियाको चेतावनी

By खबरहब

October 26, 2022

काठमाडौँ– अमेरिका जापान र दक्षिण कोरियाले आणविक बमको परीक्षण गरे उत्तर कोरियाले ‘असमानान्तर’ स्तरको प्रतिक्रियाको सामना गर्ने चेतावनी दिएका छन् ।

जापानको राजधानी टोकियोमा बोल्दै दक्षिण कोरियाका प्रथम उपविदेशमन्त्री चो ह्युन डोङले आणविक बम परीक्षण गरेको खण्डमा उत्तर कोरियाले ‘असमानान्तर’ स्तरको प्रतिक्रिया भोग्नुपर्ने विषयमा साझेदार मुलुकहरु सहमत भएको बताएका हुन् ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मन र जापानी उपविदेशमन्त्री ताकेओ मोरीसँगको भेटवार्तापछि दक्षिण कोरियाली उपविदेशमन्त्रीको यस्तो भनाइ आएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिका र साझेदार मुलुकहरुले आणविक परीक्षण गरेको खण्डमा उत्तर कोरियाले कस्तो प्रतिक्रियाको सामना गर्ने हो भन्ने खुलाएका छैनन् ।

उत्तर कोरियाले सन् २०१७ यता आणविक परीक्षण गरेको छैन । यद्यपि उत्तर कोरियाले आणविक परीक्षणस्थलको मर्मत गरिरहेको जनाइएको छ । यससँगै उत्तर कोरियाले छिटै आणविक परीक्षण गर्नसक्ने आँकलन गरिएको छ ।