तस्वीर- पीटीआई

राहुलको चाहनाअनुसार खड्गेलाई काङ्ग्रेस अध्यक्ष चयन गरिएको राजस्थानका मुख्यमन्त्रीको खुलासा

By खबरहब

October 26, 2022

काठमाडौँ- भारतको राजस्थान राज्यका मुख्यमन्त्री एवम् काङ्ग्रेस नेता अशोक गहलोतले राहुल गान्धीको चाहनाअनुसार मल्लिकार्जुन खड्गेलाई पार्टीको सर्वोच्च पदमा निर्वाचित गरिएको खुलासा गरेका छन् ।

एकपटक गैरगान्धी परिवारबाट पार्टीको अध्यक्ष बनाउने राहुल गान्धीको अभिलाषाअनुसार निर्वाचनको अन्तिम समयमा उनले उम्मेदवारी नदिएर खड्गेलाई उम्मेदवार उठाइएको उनले सञ्चारकर्मीहरूसँगको कुराकानीमा बताएका हुन् ।

राहुल गान्धीलाई देशको सबैभन्दा ठूलो र पुरानो पार्टीको अध्यक्ष बनाउन अन्तिम समयसम्म पार्टीभित्र प्रयास जारी रहेको उनले बताए ।

सत्तारुढ भारतीय जनता पार्टी भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई चुनौती दिनसक्ने राहुलमात्र एक्लो व्यक्ति रहेको भन्ने निष्कर्षमा पुगेर नेताहरु गान्धीलाई नै अध्यक्ष बनाउने पक्ष रहेको समेत उनले खुलाए ।

यद्यपि उनले पितामाताको बिरासतबाहिरका व्यक्तिलाई एकपटक नेतृत्वको अवसर दिइनुपर्नेमा जोड दिएपछि अन्तिम घडीमा निर्णय परिवर्तन भएको मुख्यमन्त्री गहलोतले स्पष्ट पारे ।

पार्टीमा कूटनीतिज्ञका रूपमा चिनिएका शशी थरूससँग भएको अध्यक्षको प्रतिस्पर्धामा खड्गेले सात हजार आठ सय ९७ मत पाएका थिए भने थरुरले एक हजार ७२ मत प्राप्त गरेका थिए ।

निर्वाचित भएपछि खड्गेले प्रजातन्त्रको सुदृढीकरण र लोकतन्त्रको रक्षालाई भारतीय काङ्ग्रेस पार्टीले सधैँ केन्द्रमा राखेको तथा ७५ वर्षदेखि त्यसैमा लागि परेको बताएका थिए ।