राजनीति

विभेद अझै अन्त्य हुन सकेनः यादव

By खबरहब

January 27, 2022

धनुषा- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अझै विभेद कायम रहेको बताएका छन् ।

बिहीबार धनुषाको लक्ष्मीनियाँमा सेन्ट्रल अस्पतालको उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले जातजाति, अनुहार, भाषा, संस्कृतिलगायतका आधारमा हुँदै आएको विभेद अझै अन्त्य हुन नसकेको बताएका हुन् । उनले मुलुकलाई समृद्ध बनाउन गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचार आवश्यक रहेको पनि बताएका छन् ।

स्वास्थ्य, शिक्षा र रोजगार मानव जातिका आधारभूत आवश्यकता रहेको पनि उनको भनाइ छ । अध्यक्ष यादवले यो अस्पतालले यस क्षेत्रका जनतालाई गुणस्तरीय सेवा दिने विश्वाससमेत व्यक्त गरे ।

कार्यक्रममा अस्पतालका सञ्चालक विजयकुमार झाले सेन्ट्रल अस्पताललाई मधेसको सबैभन्दा गुणस्तरीय र सुविधायुक्त बनाउने दाबी गरे । कार्यक्रममा मधेस प्रदेशका पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादव, लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवसहितले धारणा राखेका थिए ।