मुख्य समाचार

सत्ता गठबन्धन जोगाउन एमसीसीको ‘व्याख्यात्मक घोषणा’को तयारी !

By खबरहब

February 27, 2022

काठमाडौं – अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को व्याख्यात्मक प्रस्ताव घोषणा गरेर अगाडि बढ्न सत्ता गठबन्धनका नेता तयार भएका छन्।

प्रतिनिधिसभा बैठकमा पेश भइसकेको एमसीसीका कारण गठबन्धन टुट्ने खतरा बढेपछि नेताहरु नयाँ ढंगले जान तयार भएका हुन्। काँग्रेस महामन्त्री गगन थापाले गरेको प्रस्ताव अनुसार अब एमसीसीका केही बुँदामा ‘व्याख्यात्मक घोषणा’ हुनेछ।

सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसीसीको व्याख्यात्मक घोषणामा सकारात्मक देखिएका हुन्। सत्ता गठबन्धनका दोस्रो तहका नेताको छलफलमा व्याख्यात्मक घोषणाको प्रस्ताव अगाडि सारिएको हो। जहाँ एमसीसीमाथि शंका भएका बुँदाको व्याख्या गर्दै अगाडि बढ्ने सहमति छ। जसले सरकार र गठबन्धन जोगिने छ।

एमसीसी पास नभए काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोड्ने चेतावनी दिएपछि सत्ता गठबन्धनका दोस्रो तहका नेताले नयाँ ढंगले अगाडि बढ्ने सहमति गरेका हुन्। यो सहमति अनुसार माओवादी र एकीकृत समाजवादीले एमसीसीको व्याख्यात्मक घोषणा हुने भएपछि यसको पक्षमा मतदान गर्नेछन्। एमसीसीको पक्षमा मतदान गरेमा सत्ता गठबन्धन जोगिनेछ ।

दोस्रो तहका नेताले व्याख्यात्मक घोषणाबाट अगाडि बढ्ने सहमति गरे पनि शीर्ष नेताले यो विषयमा बोलेका छैनन्।

आइतबारको कार्यसूचीमा एमसीसी आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छ। संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुने उल्लेख छ।

सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख गरिएको हो। उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नेछन्।

यसअघि प्रधानमन्त्री देउवाको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो। शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आइतबारका लागि सारिएको हो।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान गरेका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ।