काठमाडौँ – सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
‘एमसीसी इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानभन्दा माथि नरहेको र विशुद्ध आर्थिक विकास परियोजनाको रुपमा मात्र बुझ्छौँ’ भनेर व्याख्या गर्दै पारित गर्ने निर्णय भएको पौडेलले बताए ।
आइतबार बस्ने प्रतिनिधिसभाको दोस्रो चरणको बैठकबाट एमसीसी पारित गर्ने जानकारी दिँदै भने, ‘आजै दोस्रो सेसनमा पारित हुन्छ । एमसीसी पारित गराउन एमालेको पनि सकारात्मक भूमिका रहने नेता पौडेलको विश्वास छ ।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेतात्रय रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।