अन्तर्राष्ट्रिय

एक साता नबित्दै भारतमा पाचौँ पटक पेट्रोलको भाउ बढ्यो

By खबरहब

March 27, 2022

काठमाडौं– भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यससँगै दिल्लीमा पेट्रोल प्रति लिटर मूल्य भारु ९९ रुपैयाँ ११ पैसा भएको छ ।

त्यस्तै, डिजेल प्रति लिटर मूल्य भारु ९० रुपैयाँ ४२ पैसा पुगेको छ । यसअघि पेट्रोल प्रति लिटर भारु ९८ दशमलब ६१ र डिजेल प्रति लिटर भारु ८९ दशमलब ८७ थियो । 

स्थानीय करका आधारमा भारतका विभिन्न राज्यहरुमा पेट्रोलियम पदार्थको दरमा फरक पर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा विपक्षी पार्टीहरुले भने सरकारको चर्को आलोचना गरेका छन् । विपक्षी काँग्रेस पार्टीका नेता राहुल गान्धीले जनता मारमा रहेपनि सरकार महल बनाउन लागेको टिप्पणी गरेका छन् ।