राजनीति

कांग्रेस बैठक : केन्द्रीय सदस्यले धारणा व्यक्त गर्ने क्रम जारी

By खबरहब

March 27, 2022

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार पनि घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका बारेमा धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता डा प्रकाशशरण महत्तले जानकारी दिए।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि कांग्रेसले गत फागुन २९ देखि यही चैत २९ गतेसम्म पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।

कांग्रेसले आवश्यकताको आधारमा आगामी निर्वाचनमा गठबन्धन बनाउने बताएको छ । कांग्रेस प्रवक्ता डा प्रकाससरण महतले आवश्यकताको सिद्धान्तको आधारमा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाउने जानकारी दिएका हुन् ।

सबै सदस्यहरुले धारणा राखेपछि आवश्यक निर्णय केन्द्रीय समितिले गर्ने उनले बताए। अहिले नै गठबन्धनबारे अनुमान गर्न आवश्यक नभएको प्रवक्ता महत्तको भनाइ छ ।