मनोरञ्जन

दीपा र प्रतापले गाए ‘ठगराज’को गीत  

By खबरहब

March 27, 2022

काठमाडौँ– लक्ष्मण सुवेदीको निर्देशनमा तयार हुने फिल्म ‘ठगराज’ गीत रेकर्डिङ सुरु भएको छ । आइतबार काठमाडौँ स्थित एवान स्टुडियोमा फिल्मको ‘माया बसेको रैछ’ बोलको गीत रेकर्डिङ गरिएको हो ।

गीतलाई दीपा लामा र प्रताप दासले स्वर दिएका छन् । निर्देशक सुवेदीकै शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । गीतको एरेन्ज शिवराम रसाइलीले गरेका हुन् ।

गीतको काम विस्तारै सकाइरहेको निर्देशक सुवेदीले बताए । ‘हाम्रो सेड्युल अनुसार नै काम अगाडि बढाइरहेका छौँ । आज रोमान्टिक गीत रेकर्ड गर्यौँ’ निर्देशक सुवेदीले भने ।

रंग पत्रकारबाट फिल्म निर्देशनमा फड्को मारेका सुवेदीको ‘ठगराज’ गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियसनको प्रस्तुतिमा तयार हुनेछ ।

सामाजिक कथामा कमेडी, प्रेम र सेन्टिमेन्ट मिसाइएको फिल्म जेठबाट छायांकनका लागि फ्लोरमा निस्कने तयारीमा छ । फिल्म ‘एउटा साथी’ बाट निर्देशनमा डेब्यु गरेका सुवेदीले त्यसपछि ‘लाल जोडी’ निर्देशन गरिसकेका छन् ।